
खोटाङ, १४ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थलमा मङ्गलबार गरिएको परीक्षण उडान सफल भएको छ । वि।सं। २०७५ साल जेठ १ गते दिउसो गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको परीक्षण उडान सफल भएको हो ।अवरुद्ध विमानस्थलमा परीक्षण उडान सफल भएसँगै नियमित उडान भर्नका लागि सम्बन्धित निकायमा पहल थालिएको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बताउनुभयो । “खानीडाँडा विमानस्थल सबैको पायक पर्ने ठाउँमा रहेको विमानस्थल हो”, उहाँले भन्नुभयो, “विशेषगरि जिल्ला अस्पताल दिक्तेलबाट रिफर गरिएका बिरामीलाई अन्यत्र लैजान प्रयोग गरिने खानीडाँडा विमानस्थलाई नियमित सञ्चालन गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणसँग आग्रह गरिएको छ ।” परीक्षण उडानका क्रममा सोही विमानमा आउनुभएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य समेत रहनुभएका प्रदेशसभा सदस्य पासाङले कम्तिमा पनि हप्तामा दुई पटक उडान गर्ने वातारण मिलाइने बताउनुभयो । बिहान करीब साँढे दश बजे खानीडाँडा विमानस्थलमा अवतरण भएको सो विमानमा अर्का प्रदेशसभा सदस्य एवम् जग्गादाता उषाकला राई, नेपाल वायु सेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचन लगायतका टोली निरीक्षणमा आउनुभएको थियो ।
परीक्षण उडान तथा अनुगमनका क्रममा सहभागी जिल्लावासीले खानीडाँडा–काठमाडौँ मात्र नभइ खानीडाँडा–विराटनगर पनि नियमित उडान भर्ने व्यवस्था गर्न निगम समक्ष माग गरेका छन् । जिल्लावासीको मागलाई सम्बोधन गर्नुहुँदै निगमका अप्रेसन विभाग प्रमुख ज्वारचनले पहिलो चरणमा खानीडाँडा–काठमाडौँ हप्ताको दुई पटक मङ्गलबार र शनिबार नियमित उडान भरिने बताउनुभयो । पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल प्राधिकरणको पाँच करोड ३९ लाख ४३ हजार ३५ रुपैयाँ ८८ पैसा लगानीमा कान्छाराम कन्ट्रक्शन प्रा।लि। काठमाडौँले पुनः मर्मतको काम गरेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । “लगातार परेको वर्षाद्को पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलबाढीले कटान गर्दा पहिरो गएको थियो”, उहाँले भन्नुभयो, “पहिरो गएपछि अवरुद्ध विमानस्थल पुनः मर्मत गरेर २० महिनापछि सञ्चालनमा ल्याइएको छ ।”
वि।सं। २०७५ साल भदौ १६ गतेबाट काम शुरु गरिएको विमानस्थल पुनः मर्मतको काम गत मङ्शिरमै सम्पन्न गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि हर्कबहादुर श्रेष्ठले बताउनुभयो । नागरिक उड्ययन प्राधिकरणसँगको सम्झौता अनुसार समयमै काम सम्पन्न गरिएपनि अन्तिम भुक्तानी भने पाउन बाँकी रहेको श्रेष्ठको भनाइ छ । भलपानी थुनिएर शुरु भएको पहिरो विमानस्थलको दक्षिणी क्षेत्रको करीब ५० मीटर फराकिलो भएर गएको थियो । झण्डै दुई वर्ष अवरुद्ध विमानस्थलमा सफल परीक्षण भएपछि नियमित उडान हुनेमा जिल्लावासी आशावादी बनेका छन् । विमानस्थल निर्माणका क्रममा माथिल्लो भाग कटान गरेर फालिएको माटोमाथि जाली भरिएका कारण पहिरो गएको स्थानीय राजेन्द्र राईले बताउनुभएको छ । “विमानस्थल निर्माणको काममा जिम्मा लिने ठेकेदार कम्पनीका प्रतिनिधिले छोटो समयमै बढी कमाउने उद्देश्यले काम गर्दा यस्तो भएको हो”, उहाँले भन्नुभयो, “यसको दीर्घकालीन समाधान नखोजिएमा पुनः यस्तै हुने अवस्था छ ।”
विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको विमानस्थल गुणस्तरहीन रहेको यसअघि नै गुनासो आएको थियो । करीब चार वर्षअघि मात्र कालोपत्र गरिएको विमानस्थल पटक÷पटक पहिरोको जोखिममा पर्दै आएको छ ।
कालोपत्र गर्नेक्रममै उप्किनुका साथै खाल्डाखुल्डी परेको खानीडाँडा विमानस्थल चार महिनापछि पुनः टाल्ने काम गरिएको थियो । विमानस्थल अभावमा लामो समयदेखि लाखौँ खर्चमा हेलिकोप्टरमार्फत राजधानी काठमाडौँ लगायत तराईका जिल्ला आवतजावत गर्न बाध्य बनेका जिल्लाबासीले चन्दा सङ्कलन तथा दातृ निकार्यबाट प्राप्त रकमले उक्त खानीडाँडा विमानस्थल निर्माण गरेका हुन् ।
तीन वटा विमानस्थल रहेको जिल्लामा यसअघिसम्म उत्तरी क्षेत्रमा रहेको लामीडाँडा र दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थल मात्रै सञ्चालनमा रहेको थियो । दश स्थानीय तह रहेको जिल्लाको तीन वटै विमानस्थल कालोपत्र गरिएको छ ।






















