भोजपुर स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका, तातोपानी भन्सार प्रमुखसँग १० करोड बढी अवैध सम्पत्ति : अख्तियारले चलायो मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानुनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ।

भोजपुरको षडानन्द नगरपालिका ११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका ४ धुमबाराही बस्दै आएका बस्नेत २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए। सो अवधिमा उनको पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बीमा समेतबाट जम्मा एक करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ ८२ पैसा देखिएको थियो। सोही अवधिमा निजको व्यय तथा लगानीतर्फ जग्गा खरिद, घर निर्माण, सुनचाँदी खरिद, सवारी साधान खरिद, विदेश भ्रमण र नगद मौज्दातलगायत गरी तीन करोड १३ लाख ५९ हजार ७९३ रुपैयाँ ७३ पैसा लगानी गरेको देखिएको आयोगले जनाएको छ। भन्सार अधिकृतका रुपमा रहँदा बस्नेतले आयातित सामानको भन्सार छुटाउदा व्यापारीसँग ठूलो मात्रामा घुस लिएको बताइन्छ। त्यसबाट निजको आयभन्दा व्यय एक करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँ ९१ पैसा अधिक देखिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

निजले अख्तियारको दुरुपयोग गरी आर्जन गरेको अकुत सम्पत्ति आफ्नो जेठान नवीनकुमार गौली, निजका परिवारको सदस्य तथा खाँदबारीस्थित विभिन्न व्यापारीको खातामासमेत ठूलो रकम लुकाउन लगाएको अनुसन्धानबाट खुलेको छ। उनको व्यक्तिगत खाताबाहेक अन्य बैंक खातामा समेत नौ करोड २१ लाख ५२ हजार ७९२ जम्मा गर्न लगाएको आयोगले जनाएको छ। सार्वजनिक पदमा रहँदा गैरकानुनी आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनस्तरयापन गरेको देखिएकाले बस्नेतलाई र उनका जेठान गौलीलाई समान १० करोड ६५ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए। आरोपपत्रमा निज गौलीकी श्रीमती सकुन्तला र छोरा सुलभको नाममा रहेको सम्पूर्ण सम्पत्ति समेत जफत गर्न माग गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार