भोजपुर, ३ मंसिर ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज जिल्ला अस्पताल भोजपुरको अनुगमन गर्नु भएको छ । मुख्यमन्त्री राईले अनुगमन पश्चात जिल्ला अस्पतालमा चिकित्सकको कारण बन्द रहेको शल्यक्रियाबाट गरिने प्रशुति सेवा सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभएको छ ।
अस्पतालमा विभिन्न मेसिन तथा उपकरण एंव दर्वन्दी अनुसारका कर्मचारी नभएको कारण स्वास्थ्य सेवा दिन समस्या रहेको डाक्टरहरुले बताएपछि त्यसको लागि पनि पहल गर्ने समेत बताउनुभयो ।
जिल्ला अस्पतालका डाक्टर पवित्रा श्रेष्ठले जिल्ला अस्पतालमा रहेका विभिन्न समस्या बारे मुख्यमन्त्री राईलाई जानकारी दिनुभएको थियो । कर्मचारीको समायोजनका कारण पनि स्वास्थ्यकर्मीहरु बाहिर सरुवा भएर गएको कारण सेवा प्रवाहमा समस्या रहेको डाक्टर पवित्रा श्रेष्ठले जानकारी गराउनु भएको थियो । साथै शल्यक्रियाबाट प्रशुति गराउने सेवा त्यस सम्वन्धी विषेशज्ञ डाक्टर नहुँदा बन्द रहेकोले स्वास्थ्यकर्मी पठाइदिन अनुरोध गर्नु भएको थियो ।
मुख्यमन्त्रीले अनुगमन गरे पश्चात अस्पतालको वन्द रहेको शल्यक्रियाबाट गरिने प्रशुति सेवा सञ्चालनमा आउनेमा आफू आशाबादी रहेको अस्पताल विकास समितिका अध्यक्ष एंव जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले बताउनुभयो । शल्यक्रियाबाट गरिने प्रशुति सेवा गत साउन महिनाबाट बन्द रहेको अस्पतालले जनाएको छ ।