
भोजपुर, १३ भाद । जिल्ला अदालत भोजपुरले ज्यान मारेको अभियोगमा दुई जनालाई कारागार चलान गरेको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत भोजपुरका डिठ्ठा सन्तोष आले मगरले जानकारी दिए ।
उनीहरु माथी खोटाङको केपीलाशगढि गाउँपालिका वडा नम्बर १ फेदिकी ४८ वर्षीय भइमाया राई (गुरुङ)को हत्या गरेको अभियोग छ । मृतक राई गत साउन ८ गते आन्तरिक व्यवहार मिलाउनका लागि भनेर साथमा पैसा समेत बोकेर छिनामखुको बाक्सुरी स्थित हर्कराज राईको
घरमा जान्छु भनी हिडेकीकोमा गत साउन १२ गते धोद्रे जंगलमा हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधिस खीलनाथ रेग्मीको आदेशमा बुधवारबाट पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
सुडान घोटालाका दोषी भारती पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विशेष अदालतबाट दोषी ठहरपछि फरार भएका भारतीलाई पक्राउ गरेको जानकारी दिनुभयो । भारतीले सुडान मिसनका लागि आवश्यक सामग्री आपूर्तिमा घोटाला गरेका थिए ।
भारतीलाई अदालतले एक वर्ष कैद र रु १४ करोड २० लाख आठ हजार जरिवाना तोकेको थियो । डडेलधुरा निवासी भारती हाल ललितपुरको भैँसेपाटी बस्दै आएका थिए । पक्राउ परेका भारतीलाई फैसला कार्यान्वयनका लागि ब्यूरोले आजै अदालतमा पेश गरेको छ । अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरी सजायसमेत गरिसकेको छ ।




















