कालोपत्रे गरिएको लामीडाँडा विमानस्थलमा परीक्षण उडान


खोटाङ, ३ असार । कालोपत्रे गरिएको खोटाङको लामीडाँडा विमानस्थलमा मंगलबार सफल परीक्षण उडान गरिएको छ ।

स्तरोन्नति गरिएसँगै रावाबेँसी गाउँपालिका–३, लामीडाँडामा रहेको विमानस्थलमा मंगलबार समिट एयरलाइन्सको विमानले सफल परीक्षण उडान गरेको हो ।

कुल ५६० मिटर लम्बाइ भएको विमानस्थलको धावनमार्गमा ५२० मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे गरिएपछि विमानस्थलमा बार्‍हैमास उडान हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको ६ करोड ३४ लाखको लगानीमा एकैसाथ दुई वटा विमान पार्किङ गर्न मिल्नेगरी कालोपत्रे गरिएको प्राधिकरणका विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताए।

विमानस्थल कालोपत्रे गरिएपछि गाउँपालिकाले विमानस्थलमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा परीक्षण उडान कार्यक्रम राखेको थियो । अतिथि भट्टराईले स्तरोन्नति गरिएको लामीडाँडा विमानस्थलमा निरन्तर उडान गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो । सुरुको सम्झौता म्याद २०७४ साल माघ १६ गते नै गुज्रेपछि थप भएको ७ महिनाको म्याद पनि ठेकेदारले २०७५ साल असोजमै गुजारेको थियो ।

२०२८ सालदेखि सञ्चालनमा आएको कच्ची विमानस्थल कालोपत्रे गरेर स्तरोन्नति एवं परीक्षण उडान गरिएपछि जिल्लाको यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण टेवा पुगेको सहभागीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार