भोजपुरमा पनि स्टिकर टाँस्ने अभियान शुरु


भोजपुर, १४ जेठ ।
भोजपुरमा पनि प्रहरीले घर–घरमा स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।

नागरिक सूचना र सुरक्षाका लागि प्रदेश नम्बर १ मा ‘एक घर एक स्टिकर’ टाँस्ने अभियान अन्तर्गत भोजपुरमा पनि स्टिकार टाँस्न शुरु गरिएको हो । प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि प्रदेश नम्बर–१ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यलय भोजपुरले सोमवार देखि घर–घरमा सूचना टाँस्ने अभियान थालेको हो ।
एक कार्यक्रम मार्फत जिल्ला समन्वय समितिका प्रमुख लक्षमण खड्काले स्टिकर टाँसेर अभियानको सुरुवात गरेका हुन् । सोमवार नै जिल्लाका सबै इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुले एक साथ ‘एक घर, एक स्टिकर’ टाँस्ने अभियान थालेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जीयार थारुले जानकारी दिए ।

शान्तिपूर्ण र अपराध बिहिन समाज निर्माणका लागि जिल्लाका प्रत्येक नागरिकको घरमा सन्देशमुलक स्टिकर टाँसिने भएकाले यो अभियानमा सबैलाई सहयोग गर्न प्रमुख उपरीक्षक थारुले आग्रह समेत गरे ।

स्टिकरमा प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर र टोल–फ्रि नम्बर उल्लेख छ । जिल्लाका सबै घरधुरीमा एक महिना भित्रमा स्टिकर टाँसी सक्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार