
भोजपुर, २२ फागुन ।
स्वेच्छिक अवकाशका लागि भोजपुरमा एक साखा अधिकृत सहित ७७ जना कर्मचारीले निवेदन दिएका छन् । सरकारले निजामती सहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजनासंगै उनिहरुले अवकाशका लागि निवेदन दिएका हुन् ।
निवेदन दिनेमा श्रेणी विहिन कर्मचारी ४३, नायव सुब्वा वा सो सरह १८, स्वस्थ्य तर्फ छैटौ तहका ८, खरिदार वा सो सरह ७ र एक जना साखा अधिकृत रहेको जिल्ला प्रशासन कार्यालय भोजपुर सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै निवेदनहरु सामान्य प्रशासन मन्त्रालयमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको भनाई छ ।
संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि गत पुस २९ देखिफागुन १३ गतेसम्म सामान्य प्रशासन मन्त्रालयले निवेदन माग गरेको थियो ।
मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीस वर्षीय सेवावधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो । मन्त्रालयले दर्खास्त दिइएका निवेदनलाई आवश्यक छानविन गरी समायोजन गरिने जनाएको छ ।
स्वेच्छिक अवकाशमा जाने कर्मचारीले एकमुष्ट सात वर्षको निवृत्तिभरण भत्ता पाउने व्यवस्था गरिएको छ । मुलुकभरी झण्डै ८३ हजार निजामती कर्मचारी छन् ।