भीरबाट खसालेर हत्या गरेको आरोपमा तीन जनालाई जन्मकैद


२५ माघ, जिल्ला अदालत ओखलढुंगाले विवाहमा जन्ती आएका व्यक्तिलाई कुटपीटपछि भीरबाट खसालेर हत्या गरेको अभियोगमा तीन जनालाई जन्म कैदको फैसला सुनाएको छ ।

कटारी नगरपालिका वडा नम्बर–८, घर भई छिमेकीको विवाहमा ओखलढुंगा जन्ती आएका ६२ वर्षीय रामबहादुर बुढाथोकीलाई कुटपीटपछि भीरबाट खसालेर हत्या गरेको अभियोगमा सुनकोसी गाउँपालिका वडा नम्बर–५, का १९ वर्षीय धीरेन तामाङ, १८ वर्षीय दिपक तामाङ र २१ वर्षीय रुपलाल तामाङलाई जिल्ला न्यायधीश कैलाश केशीको इजलाशले जन्म कैदको सजाय सुनाएको हो ।

घटनाबारे जानकारी पाएर पनि सूचना नदिने २५ वर्षीया कोपिला तामाङलाई भने २० रुपैयाँ जरीवाना हुने ठहर गरेको छ । ज्यान सम्बन्धी मुद्दाको २५ नम्बर बमोजिम घटनाका बारेमा थाहा पाएर जानकारी नदिएको अभियोगमा जरीवाना हुने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

विवाहमा जन्ती आएका बुढाथोकीको २०७४ वैशाख २५ गते शव भेटिएको थियो । स्थानीय एक महिलालाई हातपात गर्न खोजेपछि लखेट्दा लडेर मृत्यु भएको आरोपीतहरुले बयान गरे पनि अदालतले पोष्ट मार्टम रिर्पोट, डाक्टरको बकपत्र, शवको प्रकृति र अभियुक्त र घटना सम्बन्धित महिलाको बयानका आधारमा कुटपीटपछि भीरबाट खसालेर ज्यान गएको तथ्य फेला परेको जनाएको छ ।

घटनापछि ०७४ वैशाख २८ गते स्थानीयले दिएको लिखित उजुरीपछि आरोपीतलाई वैशाख ३१ गते गिरफ्तार गरेर कर्तव्य ज्यान मुद्दा चलाएको थियो । अभियुक्तहरु ओखलढुंगा जिल्ला अदालतको ०७४ जेठ १९ गतेको आदेशले पुरपक्षका लागि थुनामा रहेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार