काठमाडौं २० पौष ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी तोक्ने विषयमा केन्द्रित हुने बताइएको छ ।
सरकारले प्रदेश राजधानीको अस्थायी राजधानी प्रस्ताव गरेर मन्त्रिपरिषद्मा बुझाएको छ । यसलाई मन्त्रिपरिषद् बैठकले पारित गर्नुपर्ने हुन्छ । यही विषयमा सुझाव माग्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभा निर्वाचनबाट ५ पार्टी एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको आकार लिएका छन् । यिनै पार्टीका शीर्ष नेता बैठकमा सहभागी हुनेछन् ।
बैठक अहिले बिहान ९ बजे मा बस्नेछ । source :onlinekhabar