काठमाडौं १६ कार्तिक ।
मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछन् । हिजो नै निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो ।
आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ ।
दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ता हुँदै छ । दोस्रो चरणमा एक करोड दुई लाख ९८ हजार ८५२ मतदाता छन् ।
दोस्रो चरणअन्तर्गत एक नम्वर प्रदेशको इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा आज मनोनयन हुँदैछ ।
त्यसै गरी दुई नम्वर प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा आज मनोनयन हुँदैछ । पहिलो चरणमा दुई नम्वर प्रदेशका कुनै पनि जिल्लामा मनोनयन भएको थिएन् ।
त्यसबाहके तीन नम्वर प्रदेशका सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा पनि आज मनोनयन हुँदैछ ।
चार नम्वर प्रदेशका नवलपरासी पूर्व, तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा आज मनोनयन हुनेछ ।
पाँच नम्वर प्रदेशको नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दियामा मनोनय हुँदैछ ।
६ नम्वर प्रदेशको सल्यान, सुर्खेत र दैलेखमा मनोनयनको कार्यक्रम छ ।
त्यसबाहेक सात नम्वर प्रदेशको कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र पश्चिमको डोटी जिल्लामा आज मनोनयन हुँदैछ ।
यसअघि ३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरण निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । पहिलो चरण निर्वाचनबाट प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि दलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले निर्वाचनले लोकतान्त्रिक र संघीय गणतन्त्रलाई संस्थागत गर्ने भन्दै मनोनयनमा उत्साहजनक सहभागिताका लागि आह्वान गरेका छन् ।
दोस्रो चरणको चुनावमा देशका प्रमुख नेताहरुले आज मनोनयन गर्दैछन् ।