गाउँपालिकाको कार्यालयमा कुकर बम बिस्फोट


दमक। इलामको दक्षिणी क्षेत्रस्थित चुलाचुली गाउँपालिकाको भवनमा कुकर बम बिस्फोट भएको छ । बिस्फोटबाट भवनमा क्षति पुगेको छ । शनिबार राति ७ बजेर ५५ मिनेटमा बिस्फोट भएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालले जानकारी दिइन् ।

विष्फोटबाट गाउँपालिकाको नयाँ थपेको भवनको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको दाहालले बताइन् । विष्फोटबाट दुईतले भवनको छत भ्वाङ परेको छ भने छानोसमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

बमले सभाहलको ६ वटा झ्यालका सिसा, जिप्सन, डोम लाइट वायरिङमा क्षति पुगेको छ । घटनास्थलमा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए ।

घटनापछि इलामबाट प्रहरी नायव उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा प्रहरी टोलीले बिस्फोटस्थलको निरिक्षण गरेको प्रहरी उपरीक्षक विपिनकुमार कर्मचार्यले जानकारी दिए ।

बिस्फोटको जिम्मेवारी कसैले नलिएकोले घटनाबारे अनुसन्धान भइरहेको कर्मचार्यले बताए । शनिबार राति कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको त्यहाँका स्थानीयबासीले बताएका छन् । करिब तीन महिनाअघि बिप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरुले भ्रष्टाचार गरेको भन्दै गाउँपालिकामा नै पुगेर सुझाव दिएका थिए ।

त्यो बेला वडा नम्बर १ स्थित सामुदायिक वनमा भ्रष्टाचार बढेकोले यसलाई नियन्त्रण गर्न सुझाव दिएर उनीहरु गएका गाउँपालिकाकी उपाध्क्ष दाहालले बताइन् । उनीहरुले त्यतिबेला कुनै धम्की र चेतावनी भने नदिएको दाहालको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार