अस्पताल नै बिरामी


२० फागुन । गौर अस्पताल परिसरमा बिरामीलाई प्रयोग गरिएका सिरिन्ज लगायतका सामान जताततै फाल्ने गरिएको छ । बिरामीलाई लगाइएको सिरिन्ज, कटन लगायतका समान जनस्वास्थ्य कार्यालयको मूल ढोकामै फाल्ने गरिएको छ । यस्ता सामानलाई निस्क्रिय बनाई सुरक्षित डम्पिङ गर्नुपर्नेमा अस्पताल व्यावस्थापन पक्षले वास्ता गरेको छैन ।

रौतहटको सदरमुकाम गौर अस्पताल परिसरमा फालिएको सिरिन्ज लगायत फोहोर । फोहोर व्यवस्थापन नहुँदा रोगको जोखिम बढेको छ । तस्बिर स् शिव पुरीरकान्तिपुर

अस्पतालजन्य यस्ता फोहोरले हेपाटइटिस बी जस्ता रोग सर्ने चिकित्सक बताउँछन । अस्पताल प्रमुख डा। कृष्ण साहले बिरामीकै आफन्तले जथाभावी फोहोर फाल्ने गरेको बताए । ‘बिरामी कुरुवाले डस्टबिन छाडेर बाहिर जथाभावी फाल्ने गरेका छन,’ उनले भने, ‘यस्ता फोहोरको चाँडै व्यवस्थापन गर्छौं ।’ अस्पतालका कर्मचारीले दिउँसै सिरिन्ज लगायतका फोहोर ल्याएर जनस्वास्थ्य कार्यालयको मूल ढोकानजिक फाल्छन् । त्यहाँबाट अन्यत्र व्यवस्थापन गरिँदैन । अस्पतालमा पहिलेको तुलनामा बिरामीको चाप घटदो छ ।

व्यवस्थापन पक्ष कमजोर भयो भनेर चौतर्फी विरोध भएको छ । बिरामीलाई चाहिने जत्ति औषधि उपलब्ध हुँदैन । सरकारले निस्शुल्क भनिएका आधा जसो औषधि छैन । खरिद गर्न रकम अभाव भन्दै अस्पताल प्रशासन पन्छिने गरेको छ । फोहोर व्यवस्थापन हुन नसकेको धेरै भइसकेको छ । प्रयोग गरिएको सिरिन्ज पहिचान गरी इन्सिनेटरमा राखेर डिस्पोज गर्नुपर्छ । यसलाई पहिला निस्क्रिय बनाएर जलाउनुपर्छ । जमिनमा गाड्न समेत हुँदैन ।

फोहोर निस्क्रिय बनाएर सुरक्षित व्यवस्थापन गर्न नसके यसले जोखिम निम्त्याउने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष डा। भोजराज अधिकारीले बताए । ‘सिरिन्जबाट कीटाणु सक्रिय भई हेपाटाइटिस बी जस्ता रोग सर्न सक्छ,’ उनले भने, ‘यस्ता फोहोरलाई निस्क्रिय बनाई व्यवस्थापन गर्नुपर्छ । यसमा अस्पतालले हेलचेक्रयाइँ गर्नु हुन्न ।’

अस्पतालको भर्‍याङदेखि माथिका कोठा फोहोर छन । शौचालय पस्नै नसक्ने गरी दुर्गन्धित छ । बिरामी समेत शौचालय जान सक्ने अवस्था छैन । बिरामी कुरुवा र आफन्त बस्ने कुर्सी अभाव छ । बिरामी र आफन्त सबै बाहिरको भर्‍याङमै लाइन लागेर बस्छन् । अपराह्न २ बजेपछि चिकित्सक बस्दैनन् । अस्पतालको पुरानो भवन भत्काइएको छ । त्यहीं भित्र फोहोर फाल्ने गरिन्छ । भवनको इँट्टा लगायतका समान हटाइएको छैन । यसले अस्पताललाई कुरुप बनाएको छ ।

अस्पतालका अन्य कर्मचारी फोहोर देखेर पनि नदेखेझैं गर्छन् । चिकित्सकहरू कोही बोल्दैनन् । अस्पताल विकास समितिका अध्यक्ष राधेश्याम साहले फोहोर व्यवस्थापन गर्न लागिएको दाबी गरे । ‘हामीले अस्पतालका कर्मचारीलाई जथाभावी फोहोर नफाल्न भनेका छौं,’ उनले भने, ‘यसलाई सुरक्षित व्यवस्थापन गर्छौं ।’ अस्पताल व्यवस्थापनको लापरबाहीले ५० शय्याको सुविधायुक्त अस्पताल लथालिङ्ग छ । यो अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि एक जना पनि छैनन् । विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाइरहेका छैनन् ।

मेडिकल अफिसर ४ र डेन्टल सर्जन १ जनाको दरबन्दी रहे पनि एक जना पनि स्थायी छैनन् । छात्रवृत्तिका चिकित्सिक र करारमा राखिएका मेडिकल अफिसरको भरमा अस्पताल छ । अस्पतालमा ६ जना स्टाफनर्सको दरबन्दीमा रहेकोमा एक जना मात्र कार्यरत रहेको जनस्वास्थ्य प्रमुख डा।साहले बताए ।

अस्पतालको ३ जनाको दरबन्दी रहेको ल्याव टेक्निसियन १ जना मात्र छन् । ‘मन्त्रालयमा कर्मचारी अपुग भएकोमा पटकपटक पत्राचार गरेका छौं, तर सुनुवाइ भएको छैन,’ उनले भने, ‘हालसम्म विशेषज्ञ चिकित्सिक मन्त्रालयले पठाएको छैन ।’ अस्पतालको सेवा प्रभावित हुँदै गएको भनेर चौतर्फी विरोध छ । यहाँ उपचार सेवा राम्रो नभएको भन्दै बिरामी भारत र चितवन जान बाध्य छन् । कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार