
युवराज विष्ट
भोजपुर, २६ असार ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गसहित समग्र पर्यटन क्षेत्रको दीगो विकासका लागि ‘समुदाय आधारित पर्यटन नीति–२०८३’ पारित गरेको छ। शुक्रबार सम्पन्न गाउँसभाको २० औँ अधिवेशनको दोस्रो बैठकमार्फत गाउँपालिकाले पर्यटन नीति अनुमोदन गरेको हो।
करिब छ महिनाको लामो तयारी, विज्ञहरूसँगको परामर्श तथा सरोकारवालासँगको छलफलपछि तयार पारिएको उक्त पर्यटन नीति गाउँसभाबाट पारित गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार नीतिले मुन्दुम पदमार्गसँगै गाउँपालिकाभित्र रहेका अन्य पर्यटकीय गन्तव्यहरूको योजनाबद्ध विकास, पूर्वाधार विस्तार तथा प्रवद्र्धनका स्पष्ट रणनीति समेटेको छ।
“हामीले पर्यटनलाई गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिएका छौँ,” अध्यक्ष बस्नेतले भन्नुभयो,“मुन्दुम पदमार्गसँगै अन्य सम्भावनायुक्त स्थलहरूको पहिचान, संरक्षण र प्रवद्र्धनमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।”
त्यस्तै, पर्यटनसँग प्रत्यक्ष जोडिएका स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्यले गाउँसभाबाट ‘लोकल मदिरा उत्पादन, विक्री तथा नियन्त्रण सम्बन्धी विधेयक’ समेत पारित गरिएको छ। गाउँपालिकाभित्र उत्पादित फलफूल तथा कोदो लगायतका अन्नबाट स्थानीय मदिरा उत्पादन गरी ब्रान्डिङ गर्ने योजना अघि सारिएको अध्यक्ष बस्नेतले बताउनुभयो। यसका लागि आवश्यक ऐन निर्माण गरी साना तथा घरेलु उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गरिने पनि उहाँको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन नीति पारित हुनु गाउँपालिकाको समग्र विकासका लागि महत्वपूर्ण कदम भएको बताउनुभयो। गाउँपालिकाले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीति ल्याएको उहाँले जानकारी दिनुभयो ।
“पर्यटनसँगै स्थानीय उत्पादन, संस्कृति र पहिचानलाई जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो,”उपाध्यक्ष राईले भन्नुभयो, “महिला, युवा तथा स्थानीय समुदायलाई आयआर्जनमा जोड्ने गरी कार्यक्रम कार्यान्वयन गरिनेछ।”
यसैबीच, गाउँसभाबाट सिंचाइ क्षेत्रको विकासलाई प्राथमिकता दिँदै ‘सिंचाइ विधेयक’पनि पारित गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार कृषिमा उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गर्न सिंचाइ पूर्वाधार विस्तार अपरिहार्य भएकाले उक्त विधेयक ल्याइएको हो।
नयाँ नीति तथा विधेयक कार्यान्वयनसँगै टेम्केमैयुङ गाउँपालिकामा पर्यटन, कृषि र साना उद्योगमार्फत स्थानीय आर्थिक गतिविधि थप चलायमान हुने स्थानीय जानकारहरुको भनाइ छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ८७ .०७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जनाएको छ । गाउँसभाबाट आर्थिक वर्ष २०८३÷८४ का लागि ५५ करोड, ८७ लाख ५५ हजार ८७६ बजेट पारित भएको छ ।






















