पौवादुङमाका किसानलाई उन्नत जातको बोयर बोका वितरण


भोजपुर, १८ असार ।
पौवादुङमा गाउँपालिकाले बाख्रापालक कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको वडा नं– ४ बास्तीमका कृषकहरुलाई उन्नत जातका बोका वितरण गरेको गाउँपालिकाका प्रवक्ता दिपक साम्पाङ राईले जानकारी दिए ।
किसानहरुलाई मकवानपुरबाट ७५ देखी ९७ प्रतिशतसम्म बोयरको नश्ल भएका बोका दिइएको गाउँपालिका उपध्यक्ष सम्झना राईले जानकारी दिइन् । बाख्रापालनको पकेट क्षेत्र बास्तीमका १२ ओटा फर्मलाई बोका दिएको उनको भनाइ छ । त्यस्तैगरी वडा–५ सानोदुम्मा र वडा नं–६ ठुलोदुम्मालाई पनि बाख्राको पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि आगामी आर्थिक वर्षको बजेटबाट सो क्षेत्रमा पनि बोयर बोका वितरण गरिने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राइले भने,‘ बास्तीम, सानोदुम्मा र ठुलोदुम्मामा प्रशस्त चरण क्षेत्र तथा बाख्रापालनको लागि उपयुक्त ठाउँ रहेकोले हामीले बास्तीमलाई पकेट क्षेत्र तोकेर किसानलाई प्रोत्साहन गरिरहेका छौँ । अव सानोदुम्मा र ठुलोदुम्मालाई पनि पकेट क्षेत्रको रुपमा विकास गरेर अगाडी बढ्ने योजना छ ।’

१६ ओटा बोयर बोका र बाख्रालाई दाना बनाउने उपकरण समेत दिएको गाउँपालिका जनाएको छ । किसानलाई समग्रमा करीब ३० लाख बराबरको सहयोग गरेको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार