कोरोना कहर :भोजपुरमा बैशाख मसान्तसम्म सभा सम्मेलन,हाट बजारसंगै शैक्षिक संस्था बन्द गर्ने निर्णय


भोजपुर, १४ बैशाख ,
कोभिड–१९ को दोस्रो लहरको महामारीबाट बच्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र भोजपुरले जनस्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढिरहेको अवस्थामा सम्भावित जोखिमको रोकथाम नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउँदै संक्रमणलाई न्यूनीकरण गर्न कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले निर्णय गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको हो ।अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन, सभा, जुलुस, ¥याली , भेला, जमघट, गोष्ठि, सेमिनार, सभा सम्मेलन, साँस्कृतिक कार्यक्रम, दर्शक सहितको खेलकुद लगाएतका भीडभाड हुने सबै कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्ने उल्लेख निर्णय गरिएको छ, भने शैक्षिक संस्था पनि वैशाख मसान्त सम्मनै बन्द हुने भएका छन् ।यस्तै, मठमन्दिर, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्दै नित्य पूजा, ध्यान र प्रार्थना गर्न–गराउन आग्रह गरिएको छ भने जमघट हुने धार्मीक कार्यक्रम वैशाख मसान्त सम्म बन्द गरिने भएको छ ।

यस्तै सदरमुकाम सहित जिल्लाका अन्य स्थानीयतहमा लाग्दै आएका हाटबजार अर्को सुचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुइटेलले जानकारी दिए ।कुनै पनि सामान अनावश्यक रुपमा नछुने, २ जना व्यक्तिको बीचमा २ मिटर दूरी कायम गर्ने, अनिवार्य मास्क प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने गरी पसल र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने, २५ जना बढी उपस्थित नहुने गरी मेला, महोत्सव, जात्रा, पर्व, विवाह सञ्चालन गर्न–गराउन भनिएको छ ।

कार्यालय र पसलजस्ता सार्वजनिक स्थलमा स्यानिटाइजरको र मास्क प्रयोग अनिवार्य गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरी होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न भनिएको छ ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायातका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, सवारीसाधनको ढोका र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्न, चालक तथा सह–चालकले मास्क र भाइजर लगाउनुपर्ने मापदण्ड जारी गरेको छ ।

यस्तै, सवारी साधनलाई दैनिक निःसंक्रमित गर्न, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आए चालक वा सह–चालकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिन, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने, सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यात्रा गर्ने यात्रुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार