
भोजपुर, ११ वैशाख ।
भोजपुरमा कोरोना भाइरस (कोभिड–१९) शंक्रमण फैलिन नदिन ११ वटा निर्णय गरिएको छ । स्थानीय तहका प्रमुख सहितको जिल्लाका सरोकारवाला पक्षको वैठकले विभिन्न ११ ओटा निर्णय पारित गरेको हो ।
वैठकले स्थानीय तहहरुले निर्माण गरेका मापदण्ड विपरितका क्वारेन्टाइनलाई ब्यवस्थित गरी पालिका केन्द्रमा सञ्चालन गर्ने, राहत वितरण कार्यलाई मापदण्ड र आवश्यकता अनुसार ब्यवस्थित गरि सम्वन्धित स्थानीय सरकारले वितरण गर्ने, बाहिर रहेका मानिसहरुलाई उनीहरु रहेकै ठाउँमा वस्ने व्यवस्था मिलाउने, आ–आफ्नो वडा बाहिर रहेका नागरिकको तथ्याङ्क संकलन गरी प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने, विभिन्न स्थानीय तहका सिमा तथा नाकामा बसेका नागरिकलाई सम्वन्धित स्थानीय तहले चाहेमा प्रवेश गराई निमय अनुसार क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । त्यस्तै नियमित रुपमा औषधी सेवन गरिरहेका मानिसहरुको वडाले तथ्याङ्क संकलन गरेर पालिकालाई बुझाउने र पालिकाहरुले औषधी ल्याउने व्यवस्था मिलाउने निर्णय भएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
त्यस्तै कोरोना रोकथामका लागि आवश्यक पर्ने औषधी तथा दक्ष जनशक्ति उपलब्ध गराउन प्रदेश र केन्द सरकारलाई अनुरोध गर्ने, संघिय सरकारले तोकेको मापदण्डमा रहेर जिल्लाका विकास निर्माणका योजनाहरुलाई सञ्चालन गर्न सहजीकरण गर्ने, जिल्ला प्रवेश गर्ने सवारी साधनहरु र त्यसमा यात्रा गर्ने यात्रुको स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश गर्न दिने निर्णय भएको छ । त्यसैगरी आवश्यक सामग्रीको लागि प्रदेश सरकार र केन्द्र सरकारसंग मागको लागि अनुरोध गर्ने, पालिकाहरु विच आपसी समन्वय गर्ने र सुचना प्रवाह माथिल्लो तह र सम्वन्धित निकायमा जानकारी गराउने लगाएत निर्णय भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काको अध्यक्षतामा मंगलबार भएको वैठकमा षडानन्द नगरपालिका प्रमुख बिरवल राई, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राई, अरुण गाउँपालिका प्रमुख गजेन्द्र बहादुर कार्की, पौवादुङमा गाउँपालिका प्रमुख किरण राई, आमचोक गाउँपालिका प्रमुख अशोक राई, रामप्रसादराई गाउँपालिका उपप्रमुख सम्झना राई, प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी राजनितिक दल, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।






















