आन्दोलनरत शिक्षकको चेतावनी : ‘माग पुरा नभए सामूहिक राजीनामा दिएर थप आन्दोलन गर्छौ’


भोजपुर, २१ फागुन ।

भोजपुर क्याम्पसका आन्दोलनरत शिक्षकले माग पुरा नभए आन्दोलनलाई थप शसक्त बनाउने  चेतावनी दिएका छन् । १६ गतेबाट करारको माग राख्दै ‘पेन डाउन’ गरिरहेका आंशिक शिक्षकहरुले पेशाको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । लामो समयबाट ज्यालादारीमा सेवा गर्दै आएको भएपनि त्रिभुवन विश्व विद्यालयले वौद्धिक शोषण मात्र गरेकोले लिखित रुपमा पेशाको ग्यरेन्टी गर्नु पर्ने उनीहरुको माग छ ।
आंशिक शिक्षक संघ भोजपुरका अध्यक्ष शक्ती राईले भने‘ हामी १२ देखि १९ वर्ष सम्म ज्यालादारीमा काम गर्दै आएका शिक्षक पनि छौ, तर यतिका लामो समय सम्म पनि हामीलाई करार बनाउने कुनै पहल भएन, यसर्थ लिखित रुपमा पेशाको ग्यारेन्टी भएन भने हामी माथिल्लो निकायमा भएर सामूहिक राजीनामा दिएर,थप आन्दोलनका कार्यक्रमका अगाडी बढाउछौ ।’ आंशिक शिक्षकको आन्दोलनको कारण क्याम्पसमा ६ दिन देखि पठनपाठन हुन सकेको छैन् । क्याम्पस प्रमुख डा. रोहितकुमार श्रेष्ठ काठमाण्डौ रहेकाले आन्दोलनरत शिक्षक र क्याम्पस प्रशासन विच ठोस निर्णय हुन नसकेकोको जनाइएको छ । निमित्त क्यम्पस प्रमुख निलमणी भट्टराईले आफूले वार्ताको पहल गरेको भएपनि आन्दोलनरत शिक्षकले क्याम्पस प्रमुखसंग मात्र बार्तामा बस्ने भनेपछि वार्ता निष्कर्ष विहिन भएको जानकारी दिए ।
निमित्त प्रमुख भट्टराईले भने ‘उहाँहरुको मागको विषयमा क्याम्पस प्रशासन गम्भिर छ, त्यसको विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराएको छौ, मैले वार्ताको लागि पहल गरेको भएपनि साथीहरुले क्याम्पस प्रमुखसंग मात्र बार्तामा बस्छौ भनेपछि हामीले क्याम्पस प्रमुखलाई काठमाण्डौबाट बोलाएका छौ, सायद भोली बार्ता हुन्छ होला ।’ भोजपुर क्याम्पसमा १५ शिक्षकहरु दैनिक ज्यालादारी काम गर्दै आएका छन् । क्याम्पसमा विभिन्न शंकायमा गरि ६०० बढी विद्यार्थी अध्ययनरत छन् ।
 विद्यार्थी संगठनको दबाव  : शिक्षकको आन्दोलनको कारण बन्द भएको भोजपुर क्याम्पसको पाठनपाठन सुचारु गर्न विद्यार्थीहरुले माग गरेका छन् । पठनपाठन सुचारुको माग गर्दै स्वतन्त्र विद्यार्थी यूनियनले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन गरेको छ, भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटि भोजपुरले ध्यानकर्षण पत्र बुझाएको छ ।गत १६ गतेबाट आंशिक शिक्षकले करार माग राख्दै ‘पेन डाउन’ गरेपछि ठप्प भएको पाठनपाठनलाई तत्काल निरन्तरता दिन विद्यार्थीले दबाव दिएका हुन् । स्ववियूले ७२ घण्टा भित्र क्याम्पसको समस्या समाधान गरि विद्यार्थीलाई पढ्ने वातावरण बनाईदिन सरोकारवाला पक्ष समक्ष माग राखेको छ ।तोकिएको समय भित्र पनि समस्याको समाधान नगरे आन्दोलनमा जाने र त्यसको जिम्मा क्याम्पस प्रशासन स्वयमले लिनु पर्ने समेत उल्लेख गरिएको छ । विद्यार्थीको भविष्यमा खेलबाड भइरहेकाले आन्दोलनरत शिक्षकहरुलाई वैकल्पिक बाटो खोज्न समेत अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार