सर्लाही, ६ मंसिर । नेपाललाई खुल्ला दिसामुक्त देश घोषणा गरिएपनि घोषणा राजनीतिक चलखेल र सरकारी स्तरबाटै भएको चरम लापरबाहीका कारण कागजमै सिमित हुन पुगेका छन् । सर्लाही जिल्लाको धेरै जसो सरकारी कार्यालयहरु नै शौचालय बिहिन रहेको स्थानियहरुले बताएका छन् ।
सर्लाहीमा प्राय जसो दक्षिणी क्षेत्रका विद्यालय तथा स्वास्थ्य चौकीमा व्यवस्थित शौचालन नभएपछि खास गरी विद्यालय पढने विद्यार्थीमध्ये छात्राहरुलाई निकै नै समस्या परेको अभिभावकहरुले जनाएका छन् । ईश्वरपुर, चन्द्रनगर, गाडैता, मलंगवा, कविलासीलगायतको स्थानिय तहहरुमा विद्यालय तथा स्वास्थ्य चौकीमा व्यवस्थित शौचालय नहुँदा विद्यार्थी तथा कर्मचारीहरुले सास्ती खेप्नु परेको छ ।
चन्द्रनगर गाउँपालिका वडा नं। ६ मा मरिचमान माविमा सौचालय भएपनि एउटा पनि सञ्चालन नभएपछी आफुहरुले शौच गर्न निकै नै समस्या भएको एक विद्यार्थीले भने । त्यसैगरी स्वास्थ्य चौकीहरुमा पनि सौचालय नहुँदा महिला कर्मचारीसहित सेवाग्राहीले पनि सास्ती खेप्नु परेको सेवाग्राहीहरुको गुणासो छ ।
यसैबिच पश्चिम र दक्षिण क्षेत्र पर्ने गोडैता नगरपालिका वाड नं। २ जयपुरलाई गत वर्ष जेठ १६ गते एउटा विशेष कार्यक्रमको आयोजना गरी खुल्ला दिसामुक्त वडाको रुपमा घोषणा भएको एक वर्ष भन्दा बढी बित्न लाग्दा पनि जयपुरमा रहेको स्वास्थ चौकीमा निर्माण भएको शौचालय सन्चालनमा आउन सकेका छैन । शौचालय नहुँदा स्वास्थ चौकीमा आउने बिरामीहरुलाई दिसापिसाब गर्न समस्या हुने गरेका छन् ।
विशेष गरेर अर्को गाउँ पिपरनाथ, भटौलिया र बेल्वाजब्दीबाट उपचारका आउने बिरामीलाई खुल्ला ठाउँमै दिसापिसाब गर्नु परेका छन् । गर्मी महिना बढी स्वास्थ चौकीमा झडापखालाका बिरामी आउने गर्दछन् तर चर्पी नहुँदा बिरामीलाई धेरै तनावको सामना गर्नु परेको र विरामीलाई बोतलमा पानी राखेर खेतमा पठाउनु परेको त्यसमै काम गर्ने एक चिकित्सकले बताए । चर्पी नहुँदा स्वास्थ चौकीमा काम गर्ने कर्मचारीलाई विधालय चर्पी प्रयोग गर्नु पर्ने बाध्यता रहेको त्यसैमा काम गर्ने एक कर्मचारी रामविनय साहले बताए ।
सार्वजनिक विदामा विद्यालय बन्द हुँदा कर्मचारीलाई पनि खुल्ला ठाउँमै शौच गर्नु परेका छन् । विशेष गरेर स्वास्थ चौकीमा काम गर्ने महिला कर्मचारीलाई बढी समस्या हुने गरेका छन तर समस्या समाधानका लागि सम्बन्धित निकाय मौन रहेको स्वास्थ चौकीमा काम गर्ने कर्मचारीहरु बताउँछन् । शौचालय सन्चालनका लागि पटकपटक गुहार गरेपनि सम्बन्धित निकायले कुनै पहल नगरेको उनीहरुको आरोप छ ।
आर्थिक वर्ष २०७६र७७ मा स्वास्थ चौकीको भौतिक तथा पुर्वाधार निर्माणको लागि ५ लाख बजेट विनियोजन गरेको वडाअध्यक्ष भोला महतोले बताए । एक महिना भित्रमै स्वास्थ चौकीको शौचालय सञ्चालनमा आउने प्रतिबद्धता व्यक्त गरे । यो समस्या गोडैता नगरपालिकामा मात्र नभई देशको अरु पालिकाहरुमा पनि रहेको जानकारहरु बताउँछन् । सरकारले लिएको नेपाललाई खुल्ला दिसामुक्त बनाउने अभियान निश्चित समयमा व्यवहारिक रुपमा पुरा नभएको जानकारहरुका कथन छ ।






















