
काठमाण्डौ, ८ कात्तिक । सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहोराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रबार अभियुक्तलाई दोषी ठहर गरेको हो । नयाँ कार्यविधिअनुसार दोषीलाई कसुर सजाय निर्धारण भने अर्को सुनुवाइपछि मात्र तय हुनेछ । सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ ।
विक्रम संवत् २०६९ पुस ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०र५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको सुनाएको थियो ।
बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । तर त्यस फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ ।
पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गर्नुभएको थियो । एसएलसी परीक्षा दिँदै गर्दा सामूहिक बलात्कार पीडित बोहोरा २०६८ सालको एसएलसी परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर–३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र बैतडी गुजर–२ को चाँदनी फोटो स्टुडियोको सञ्चालक ३० वर्षीय अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए ।






















