
युवराज विष्ट
भोजपुर, २९ चैत ।
भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा ‘एक घर एक टनेल’कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई व्यावसायिक तरकारी खेतीमा जोड्न गाउँपालिकाले‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाको ‘नेपाल जलवायु अनुकुलन कार्यक्रम’मार्फत रु.दश लाख र वडाले रु.तीन लाख ५० हजार बजेट विनियोजन गरेर किसानलाई टनेल वितरण गरेको रामप्रसादराई ३ भुल्केका वडाध्यक्ष रामु थापामगरले बताउनुभयो ।
किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिनुभयो । किसानको मागको आधारमा पहिलो चरणमा वडाका एक सय २१ जना किसानलाई टनेल वितरण गरिएको उहाँको भनाइ छ ।
“भुल्के क्षेत्रलाई तरकारीमा नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौँ”वडाध्यक्ष थापामगरले भन्नुभयो,“यो वर्ष हामीले किसानको लागत साझेदारीमा कृषि सामग्री वितरण गरेका छौँ । तरकारीको लागि उपयुक्त भूगोल रहेकाले यसको खेतीमा जोड दिएका हौँ ।” किसानलाई कम्तीमा पनि तीन वर्षसम्म अनिवार्य खेती गर्ने सर्तसहित टनेल वितरण गरिएको वडाध्यक्ष थापामगरले बताउनुभयो ।
प्लाष्टिक टनेलसहित थोपा सिंचाई, मल्चिङ प्लाष्टिक,पाइप, किरा मार्ने पासो र आवश्यक बीउविजन पाएको स्थानीय कृषक सीताराम मगरले बताउनुभयो । गाउँपालिका तथा वडाले गरेको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिलेको उहाँको भनाइ छ । प्लाष्टिक टनेलसहित आवश्यक बीउविजन र कृषि सामग्री पाएकाले खेती गर्न सहज भएको उहाँले बताउनुभयो ।
“परम्परागत रुपमा तरकारी खेती गर्दै आएको थिए” उहाँले भन्नुभयो,“कसरी व्यावसायिक बन्ने भन्ने सोचमा थिए । अहिले गाउँपालिकाबाट खेती गर्ने प्राविधिको जानकारीसँगै आवश्यक कृषि सामग्री पाउँदा ज्यादै खुसी लागेको छ ।”
विगतका दिनबाटै व्यावसायिक रुपमा तरकारी खेती गरिरहेको अवस्थामा गाउँपालिकाले गरेको सहयोगले थप टेवा पुगेको स्थानीय किसान देवीप्रसाद भट्टराईले बताउनुभयो । अन्य बालीको तुलनामा प्रविधियुक्त तरकारी खेतीबाट छ गुणा बढीसम्म आम्दानी लिएको उहाँको भनाइ छ ।
किसानलाई प्रविधिमैत्री जैविक खेती प्रणालीमा जोड्न भुल्केमा ‘एक घर एक प्लाष्टिक टनेल’को कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । किसानलाई तरकारी खेती सम्वन्धि सहजता प्रदान गर्न यो वर्ष पाँच वटा वडामा तरकारी सिंकाई केन्द्र स्थापना गरेर आवश्यक अभ्यासमूलक ज्ञान प्रदान गर्ने काम भईरहेको अध्यक्ष राईको भनाइ छ ।
“हाम्रो देश कृषि प्रदान देश हो”अध्यक्ष राईले भन्नुभयो,“अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै कृषि छ । खेती प्रणालीलाई व्यावस्थितसँगै आयमूलक बनाउन विभिन्न कार्यक्रम गरिरहेका छौँ । किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स खरिद गरेका छौँ ।”
भुल्केबाट एक घर एक टनेलको कार्यक्रम शुरुवात गरेको उहाँको भनाइ छ । किसानले गरेको कामको आधारमा आगामी दिनमा अनुदानका कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको अध्यक्ष राईले बताउनुभयो ।
किसानले तालिमसँगै आफूलाई आवश्यक परेको खण्डमा सहज रुपमा प्राविधिक सहयोग पाउने व्यवस्था मिलाइएको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकालाई तरकारीको ‘हव’ बनाउने लक्ष्यका साथ ‘कृषि गुरुयोजना’ बनाएर कृषिमा लगानी गरिरहेको अध्यक्ष राईले बताउनुभयो ।
प्रोत्साहनका लागि उत्कृष्ट खेती गर्ने किसानलाई गाउँपालिकाले पुरस्कारको व्यवस्था गरेकोसमेत अध्यक्ष राईले जानकारी दिनुभयो ।




















