भाेजपुरकाे पाँचधोरमा ‘किरात साँस्कृतिक’ भवन निर्माण गरिँदै


भोजपुर, ५ चैत । भोजपुरको पश्चिमी क्षेत्रमा पर्ने टेम्केमैयुङ ९ लेखर्कको पाँचधोरमा ‘किरात साँस्कृतिक’ भवन निर्माण थालिएको छ । किराँत संस्कार सस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्धेश्यले यहाँ साँस्कृति भवन निर्माण थालिएको हो । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट प्राप्त रुं ८० लाख लागतमा यहाँ किरात साँस्कृतिक भवनको निर्माण भईरहेको टेम्केमैयुङ ९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।

यो आर्थिक वषर्मा सम्पन्न गर्ने गरी निर्माण भईरहेको भवनको हालसम्म करिव ५० प्रतिशत काम सम्पन्न भएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । ऐतिहासिकता प्रदान गर्न काठमाण्डौँबाट कालीगड ल्याएर किरात संस्कृति झल्कने गरी कलात्मक रुपमा भवन निर्माण भईरहेको उहाँको भनाइ छ ।
“किरात सस्कृतिको संरक्षण विकाससँगै पुस्तान्तरण गर्ने लक्ष्यले यहाँ ‘किरात साँस्कृतिक’ भवन निर्माण भईरहेको छ” वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो,“मुख्य रुपमा यहाँ किरात सामुदायको संस्कार, सस्कृति रिजिरिवाज, रहनसहन, भेषभुषा संग्रहित गरिने छ । भवनमा राखिने सामग्रीले किरात संस्कृतिको झल्को दिनेछ । यहाँबाट किरात परिकारको बारेमासमेत जानकारी प्रदान गर्ने लक्ष्य छ । ”

यो भवनलाई भविष्यमा संग्रालयसँगै किरात संस्कृतिको अध्यायन केन्द्रको रुपमासमेत विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । पाँचधारेमा पाँचधाम निर्माण गर्ने योजनाको साथ काम भईरहेको उहाँले बताउनुभयो । यहाँ निर्माण भईरहेको किरात साँस्कृतिक भवन ढुङ्गा, सुर्की र चुनाको प्रयोगबाट निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।
यहाँ निर्माण हुने झ्याल, ढोका, निदल, दलिन, थामलगायतमा किरात संस्कृति झल्कने, ढोल, झ्याम्टा, चिण्डो, धनुवान, मुर्चुङ्गा विनायोको चित्र रहने उहाँको भनाइ छ । “यो क्षेत्र धार्मिक हिसाव निकै महत्वपूर्ण र ऐतिहासिक छ” वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो,“खास गरेर यहाँ धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यले एकिकृत पर्यटनमा जोड दिएका छौँ । यहाँको पाँचधारे पोखरी धेरैमा परिचित छ । हामीले ‘पाँचधारेमा पाँचधाम’बनाउने लक्ष्यले किरात, हिन्दु, बौद्धलगायत धर्मको विकास तथा प्रर्वद्धनमा जुटेका छौँ ।”

पाँचधारेमा पर्यटनलाई लक्षित गरेर पाँचधारे पोखरी,किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण तथा पदमार्ग निर्माण गरिएको उहाँको भनाइ छ । हाल यहाँ निर्माण भईरहेको पदमार्गलाई मुन्दुम पदमार्गसँग जोडने लक्ष्य रहेको वडाले जनाएको छ ।

प्रचुर पर्यटकीय सम्भावना रहेको यस क्षेत्रको विकासमा प्रदेश र केन्द्र सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । भोजपुरमा विस्तार भइरहेको मुन्दुम पदमार्गलाई अवका दिनमा सेल्मेडाँडा हुँदै कपासे भञ्याङसम्म जोड्ने योजना रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार