
भोजपुर, २१ माघ ।
भोजपुरको दूधकोशी–चुहार–फलाम ढुङ्गा–घोडेटार सडक कालोपत्र शुभारम्भ गरिएको छ । जिल्लाको यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार किराँत मुन्दुमी संस्कार अनुसार सडक कालोपत्रको शुभारम्भ गरिएको हो ।
दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोडने सवै भन्दा छोटो मार्गको रुपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन इकाई, कोशी प्रदेश, विराटनगरको बजेटमा निर्माण हुने जनाइएको छ ।२२ दशमलव सात किलोमिटर रहेको यो सडक कालोपत्र रु. ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।
८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किराँत मुन्दुमी संस्कार अनुसार सडक कालोपत्र कामको शुभाराम्भ गर्नु भएको हो । शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताउनुभयो ।यो सडक निर्माणले गाउँपालिकाले लिएको समृद्ध हतुवागढीको अभियानलाई पुरा गर्न टेवा पुग्ने धाराणा राख्नुभयो । उहाँले सडक निर्माण पश्चात दक्षिणी क्षेत्रको विकासको ढोका खुल्नेसमेत बताउनुभयो । यो सडक मार्ग कालोपत्र भएपछि भोजपुरका नागरिकहरुलाई आवतजावतमा सहजता हुने बताउनुभयो ।
“दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको छ”अध्यक्ष राईले भन्नुभयो,“यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नको लागि निकै ठूलो भूमिका खेल्छ । कालोपत्रको कामलाई गुणस्तरियढंगले समयमा सम्पन्न गराउन स्थानीय सरकारले ध्यान दिनेछ ।”
निर्माण कम्पनीका प्रतिनिधि अर्जुन दाहालले सडक निर्माणको काम चार स्थानबाट एकसाथ थालनी गर्ने लक्ष्य रहेको बताउनुभयो । यो सडक कालोपत्रको लागि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईको पहलकदमी रहेको थियो । सडकले भोजपुरको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
दुधकोसी चुहार–फलामढुङ्गा–घोरेटार सडक निर्माणले भोजपुर जिल्लाको यातायात सुविधालाई मजबुत बनाउने हतुवागढी ५ होम्ताङका स्थानीय तथा एमाले जिल्ला सचिव एक्सन राईले बताउनुभयो । सडक निर्माण पश्चात कृषि उपजको बजारीकरणसँगै शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । सडक कालोपत्रको लागि गत असोज महिनामा एमएस एमसीएसई आइ पिएलए एनएस जेभी कोटेश्वरसँग सम्झौता भएको छ ।