
भोजपुर १५ माघ ।ताप्लेजुङको मुक्कुमलुङ धार्मिक स्थलमा आदीवासीहरुको आस्थाको धरोहरसँगै धर्म र भावना विपरीत केवलकार निर्माण गरिएको भन्दै भोजपुरका क्रियाशिल विभिन्न राजनितिक दल तथा संघ संस्थाले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् । नेपाली काङग्रेस, सभापति, विनोद वान्तावा, नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य हर्कराज राई, जनता समाजवादी पार्टी, सचिव, पनन राई, नेकपा एस, केन्द्रिय परीषद सदस्य सिद्धिकुमार राई, रास्वपा नगर सभापति, चन्द्र श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी, तिलक गुरुङ, १ नम्बर प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समिति, संयोजक, विदुर राई, किरात राई चाम्लिङ खाम्बातिम, सदस्य, गोकुल नाम्बुहाङ राई, अरुण तेस्रो प्रभावित क्षेत्र संघर्ष समिति, संयोजक पाविहाङ राई, भोजपुर उद्योग वाणिज्य संघ अध्यक्ष कर्ण मोक्तानद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
“प्रदेश नम्बर १ ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ धार्मिक स्थलमा राज्यको संरक्षणमा एक व्यापारीलाई समग्र नागरीकहरुको र विशेषगरी आदीवासीहरुको आस्थाको धरोहर सँगै धर्म र भावना विपरीत केवलकार निर्माण गर्ने राज्यको निर्णय विरुद्ध विगत लामो समयबाट विभिन्न राजनीतिक दल र संघ संस्थाहरु शान्तिपूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरु निरन्तर गर्दै आएको अवस्थामा सर्वपक्षिय वार्ता मार्फत समस्याको समाधान खोज्नु पर्नेमा मिति २०८१ माघ १२ गते राज्य द्वारा निशस्त्र अधिकारकर्मीहरु माथि निर्मम तवरबाट अन्धाधुन्दा गोलि प्रहार गरी घाईते बनाईएको प्रति भोजपुर जिल्लामा क्रियाशिल राजनीतिक दल र संघ संस्था यस घटनाप्रति गम्भिर ध्यानाकर्षण र घोर भत्र्सना गर्दछ ।
उक्त घटनालाई तनावग्रस्त हुनबाट रोक्नका लागि सम्बन्धित संघर्षरत सम्बन्धित सरोकारवाला संघ सस्था राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागितामा वार्ता आयोजना गरी राज्य र अधिकारकर्मी दुवै पक्षबाट बल प्रयोग गर्ने र भिडन्त हुने अवस्थाको अन्त्यका लागि वार्ताको माध्यमबाट समस्याको समाधानको बाटो पहिल्याउन र घाईतेहरुको निशुल्क उपचारका निमित्त राज्य पक्षसँग जोडदार माग गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्यको दमनकारी गतिविधिको विरोध गर्दछौं ।”