भोजपुर, २९ चैत । भोजपुरको पौवादुङमा गाउँपालिका ५ सुप्लाको दोश्रो हलेसीको रुपमा रहेको प्रसिद्ध चार ढुङ्गे सन्तानेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । धेरै देवी देवताको बासस्थलको रुपमा रहेको यो स्थान प्रचार प्रसार अभावमा ओझेलमा परेको हो । यहाँ दर्शन गरेमा सन्तान प्राप्त हुने तथा आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वासले मानिसहरु आउने गरेका छन् । प्रसिद्ध धार्मिक स्थल भएपनि प्रचार प्रसार अभावमा ओझेलमा परेको स्थानीयबासी तथा मन्दिरका पुजारी प्रेमबहादुर खड्काले बताउनुभयो ।
यहाँ महारुद्र, हिमालय, शिव लिङ्ग, गुप्तेश्वर महादेव, काली नाग,सेती नाग, सहस्श्र नाग, जलपा, पञ्चकोटी, झाक्री झाक्रीना, सिद्ध सिकारी, महारानी ठकुरारी, सिंहदेवी, सिलता देवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ती रहेको पुजारी खड्काले बताउनुभयो । यहाँ राम नवमी, तीज, शिवरात्री, बालाचतुर्दशीलगायत अवसरमा भव्य मेला लाग्ने गरेको खड्काले जानकारी दिनुभयो ।
“यो देवस्थललाई हलेसीको दोश्रो रुपको रुपमा रहेको छ”उहाँले भन्नुभयो,“ शिव सन्तानेश्वर महादेवको दर्शन गरेमा सन्तान प्राप्त हुने तथा चिताएको पुग्ने धार्मिक विस्वास छ। प्रसिद्ध धार्मिक क्षेत्र भएपनि प्रचार अभावमा ओझेलमा परेको छ । यहाँ धेरै देवी देवताको बास रहेको छ ।”
प्रसिद्ध धार्मिक स्थल रहेकोले यो स्थानको प्रचार प्रसारसँगै मन्दिरको विकास तथा थप जग्गा व्यवस्थापन गर्न स्थानीय जुटेका छन् । यहाँ आन्तरिक तथा बाध्य पर्यटक भित्राउन आगमी बैशाख ५ गतेदेखी १३ गतेसम्म महायज्ञकोसमेत आयोजना गरिएको महायज्ञ आयोजक समितिका अध्यक्ष बल बहादुर कार्कीले जानकारी दिनुभयो ।
“यो प्रसिद्ध स्थलको विकासमा हामी जुटेका छौँ”अध्यक्ष कार्कीले भन्नुभयो, “यो क्षेत्र ओझेलमा परेको छ । यसको प्रचार प्रसारको लागि महायज्ञ आयोजना गरेका छौँ । महायज्ञबाट संकलन भएको रकमबाट यहाँको विकाससँगै थप जग्गा व्यवस्थापन गर्ने लक्ष्य छ ।” यो देवस्थलको विकास तथा प्रर्वद्धन गर्न यहाँ महायज्ञ सञ्चालनको तयारी गरिएको सन्तानेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताउनुभयो । महायज्ञ सञ्चालनले यहाँको प्रचार प्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।
“यो स्थानको प्रचार प्रसारमा हामी जुटेका छौँ”उहाँले भन्नुभयो, “महायज्ञ सञ्चालनले यहाँको विकाससँगै प्रचार प्रसारमा टेवा पुग्छ भन्ने हामीले लक्ष्य लिएका छौँ ।”
गरुयोजना निर्माण गरेर गाउँपालिका भित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले वडा नं १ तिलाहार रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुण डाँडा, सन्तानेश्वर महादेव, च्याङग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ । “हामीले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा गुरुयोजना तयार गरेर काम गरिरहेका छौँ ”अध्यक्ष राईले भन्नुभयो, “सन्तानेश्वर महादेवको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर संरक्षण तथा विकासको काम भईरहेको छ । गाउँपालिका तथा प्रदेश सरकारको लगानीमा मन्दिर तथा भौतिक संरचना निर्माण गरेका छौँ । गाउँपालिका भित्रका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरेर आर्थिक पक्षसँग जोडेर लैजाने हाम्रो लक्ष्य छ ।”
वडा कार्यालयले पनि यो स्थानका विकासको लागि बजेट विनियोजन गरेर संरक्षण गरिरहेको वडाध्यक्ष बोमप्रसाद राईले बताउनुभयो । यो आर्थिक वर्षमा यहाँ प्रवेश गर्ने बाटोको स्तरोन्नतीको काम गरेको उहाँको भनाइ छ । यो स्थानको विकासको लागि स्थानीयलाई जागरुक बनाएर संरक्षणको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । बाटो निर्माणले भक्तजनका आवतजावतमा सहजता थपेको वडाध्यक्ष राईको भनाइ छ ।