भोजपुर, ३० मङ्सिर । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो । घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आत्मसात गर्दै पाँच वटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।
घुम्ती शिविरबाट वडास्तरियसँगै पालिकास्तरिय योजना सम्झौता, मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा, कृषि तथा पशुपंक्षी सेवा, पञ्जीकरण अन्तर्गत घटना दर्ता सम्बन्धी सेवा र अभिमुखिकरण, अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण तथा बैंक सम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताए ।
“हाम्रो गाउँपालिकाका कतिपय भूगोलहरु अतिनै विकट छन्”प्रशासकीय अधिकृत अधिकारीले भने,“ विकटताका कारण नागरिकलाई सास्ती हुने गरेको छ । स्थानीयलाई एउटा सानो काम गर्न आउँदा दुई दिनसम्म लाग्ने अवस्था पनि छ । नागरिकको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाका सबै सेवा वडास्तरबाट प्रदान गरेका हौँ ।”
गाउँपालिकाले वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रवाह गरेको हो । वडाबाट गाउँपालिकाको सबै सेवा लिन पाउँदा सहज भएको वडा नं ४ खाटम्माका स्थानीयबासी काजी तामाङले बताए । गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको उनको भनाइ छ । “हाम्रो ठाउँबाट गाउँपालिका केन्द्र पुग्न धेरै समय लाग्छ”उनले भने,“जाँदा,आउदा, खादा र बस्दा चारदेखी पाँच हजार खर्च हुन्छ । गाउँपालिकाले आफ्नो घर पायकमा सेवा लिने वातावरण दिएको छ । शिविरमार्फत सेवा दिँदा हामीलाई राहत मिलेको छ । हामीलाई स्थानीय सरकार भएको अनुभूति भएको छ । हामी धेरै खुसी छौँ ।”
एकिकृत घुम्ती शिविरमार्फत वडामा सेवा पाउदा खुसी लागेको वडा नं ६ सालेवाका स्थानीयबासी लेखनाथ गिरीले बताए । शिविरले सानो कामको लागि दुईदेखी तीन दिनसम्म विताएर गाउँपालिकासम्म जानु पर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । “सानो कामको लागि कष्टर यात्रा गरेर गाउँपालिका पुग्नु पर्ने बाध्यता थियो” उनले भने,“ घरमा नै अपाङगता परिचय पत्र पाएँ । गाउँपालिकाको कामप्रति हामी खुसी छौँ । यहाँबाट हामीलाई गाउँपालिका केन्द्र पुगेर आउन तीनदिनसम्म लाग्छ ।”
शिविरमार्फत वडा नं १ मा दश, वडा नं २ मा सात, वडा नं चार मा ११, वडा नं ५ मा आठ र वडा नं ६ मा १२ ओटा गरी ४८ वटा योजनाको सम्झौतासँगै खाता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषि सेवा अन्तर्गत चार सय ६० केजी तोरीको विउ र ९० केजी सूर्यमुखीको विउ वितरण गरिएको गाउँपालिको कृषि शाखाले जनाएको छ । त्यस्तै शिविरबाट पशु सेवा अन्तर्गत दुई सय ४८ कृषकलाई पशुपञ्छी सम्बन्धि उपचार र औषधी प्रदान गरिएको हो । महिला विकास अन्तर्गत ५९ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ । शिविरबाट नौ जनालाई अपाङगता परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले जानकारी दिईन । स्वास्थ्य सेवा अन्तर्गत वडा नं ४, ५ र ६ मा गरी एक सय ३९ जनालाई स्वास्थ्य सम्बन्धी सेवा, परामर्श र औषधी उपचार प्रदान गरिएको उपाध्यक्ष राईको भनाइ छ ।“नागरिकलाई एक साथ गाउँपालिकाका सबै शाखाको सेवा प्रदान गरेका छौँ” उपाध्यक्ष राईले भनिन्,“शिविर सञ्चालनले स्थानीयलाई सहजता थपिएको छ ।” खास गरेर वडा नं ४, ५ र ६ भौगोलिक रुपमा निकै विकट मानिन्छ । यहाँका नागरिकलाई सेवा लिन गाउँपालिका केन्द्र चौकी डाँडासम्म आउँदा दुईदेखि तीन दिनसम्म दिनसम्म वित्ने गरेको अवस्था छ ।
सेवा लिनको लागि घण्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनु पर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट बृहत एकिकृत घुम्ती शिविरमार्फत जनतालाई सेवा दिइएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । स्थानीयलाई सहज सेवा प्रवाहको लागि गाउँकार्यपालिकाको निर्णय अनुसार सेवालाई वडास्तरसम्म विस्तार गरिएको अध्यक्ष कुलुङको भनाइ छ । “स्थानीय सरकारले जनताको सहजताको लागि काम गर्ने हो” अध्यक्ष कुलुङले भने,“हाम्रा अधिकांश वडाहरु धेरै विकट छन् । सेवा लिन आउँदा नागरिकले धेरै सास्ती भोग्नु पर्ने अवस्था छ । जनताका समस्यालाई ध्यानमा राख्दै बृहत एकिकृत शिविर सञ्चालन गरेर सेवा प्रदान गरेका हौँ ।”
‘जनताको वरिपरि सेवा’ भन्ने मान्यताका साथ काम गरिरहेको अध्यक्ष कुलुङले बताए । सय दिने रोजगारी अभियान अन्तर्गत वडामै रोजगारी सम्झौता गरिएको उनले बताए ।
“गाउँपालिकाको सेवा वडास्तरसम्म विस्तार गरेर सेवा दिँदै आएका छौँ”अध्यक्ष कुलुङले भने,“ हामीले जनताको वरिपरि सेवा भन्ने मान्यतालाई स्थापित गराउन लागि परेका छौँ । जनपक्ष काम गरेर नागरिक र स्थानीय सरकार बीचको सम्बन्धलाई अझ बलियो बनाउन जुटेका छौँ। जनताको आवश्यकताको आधारमा सेवा प्रवाह तथा योजनालाई सञ्चालन गरिहेका छौँ ।”
आगामी दिनमासमेत यस्ता शिविरलाई निरन्तरता दिँदै प्रभावकारीढंगले जनताको घरदैलोमा सेवा प्रदान गर्ने योजना रहेको अध्यक्ष कुलुङको भनाइ छ ।