पौवादुङमा गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न


भोजपुर, २९ वैशाख । पौवादुङमा गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका विकास निर्माण तथा अन्य गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, गाउँपालिकामा सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गरे ।

हालसम्म चालु तर्फ ६२ दशमलब ०५ प्रतिशत र पुँजीगत तर्फ ४४ दशमलब ६९ प्रतिशत बजेट खर्च भएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । समग्रमा यो अवधिसम्म ५५ दशमलव ७ प्रतिशत बजेट कार्यान्वयन भएको भट्टराईको भनाइ छ । कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै गाउँपालिका अध्यक्ष किरण राईले पौवादुङमा गाउँपालिकाले यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताए । स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने राईको भनाइ छ ।

 

गाउँपालिकाका धेरै योजनाहरु सम्पन्न भएर भुक्तानी चरणमा रहेको अवस्थामा सरकारले बजेट कटौती गर्दा भुक्तानीमा समस्या हुने अवस्था आएको अध्यक्ष राई बताए ।‘‘केन्द्र सरकारले स्थानीय तहलाई असफल बनाउने हिसाबले काम गरेको देखिन्छ’ अध्यक्ष राईले भने,‘काम सकेर भुक्तानी दिने अवस्थामा बजेट काटनु भनेको जनताको विकासको चाहना पुरा हुन नदिन गरिएको षडयन्त्र हो । सवै स्थानीय तहले केन्द्र सरकारलाई दवाव दिन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार