भोजपुर, २ असार । भोजपुर नगरपालिकामा रहेको पारपानी इनामे सामुदायिक वनमा नेपाली सेनाको अगुवाईमा बृहत वृक्षारोपण कार्यक्रमको थालनी गरिएको छ । यो ठाउँलाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले आठ हजार विरुवा रोपिने भएको हो । नेपाली सेनाको फष्ट रैफल गण भोजपुरको अगुवाईमा यहाँ वृक्षारोपण अभियान थालिएको हो । भौगोलिक रुपमा सुख्खाग्रस्त क्षेत्रको रुपमा रहेको यो स्थानको संरक्षणमा नेपाली सेनाले भूमिका खेलेको स्थानीयबासीले बताएका छन् । सेनाको अस्थायी तालिम गर्ने स्थान रहेको यो ठाउँमा गत वर्ष पनि नेपाली सेनाले वृक्षारोपण गरेको थियो ।
पानीको अभाव रहेको स्थानमा भोजपुर नगरपालिकाको सहयोगमा पिउने पानीसमेत व्यवस्था गरिएको छ । सेनाले यहाँ कालाभैरवको मन्दिरसमेत स्थापना गरिदिएको छ । यसै अनुरुप यो स्थानलाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यले वृक्षारोपणको थालनी गरिएको हो । फष्ट रैफल गण भोजपुरका गणपति विश्वनाथ तिमिल्सिनाले यस क्षेत्रको विकासमा सेनाले सकृयताका साथ काम गरेको बताउँदै यसको संरक्षण र थप विकासका लागि सरोकारवाला पक्षले ध्यान दिनुपर्ने धारणा राखे ।
गणपति तिमिल्सिनाले भने, ‘ हाम्रो गणलाई अस्थायी तालिको प्रयोजनको लागि यो स्थान दिनुभएकोमा नगरपालिका र सामुदायिक वन प्रति सेना आभार प्रकट गर्दछ । सेनाले यहाँको विकासको लागि धेरै काम गरेको छ । यसको निरन्तरतामा भोजपुर नगरपालिका सहित सरोकारवाला पक्षले ध्यान दिएमा यो क्षेत्र धार्मिक पर्यटन स्थापित ठाउँ हुन्छ भन्ने मलाई विस्वास छ ।’ पानीको अभाव भएको यो ठाउँमा पानी, विजुलीको सुविधा पुगेको छ । पारपानी क्षेत्रको विकासमा सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए । नगरपालिकासंगको सहकार्यमा सेनाले यहाँ मन्दिर निर्माणदेखी विभिन्न संरचना निर्माण गरेको उनले बताए । यो क्षेत्रलाई हरियाली बनाएर धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले काम गर्ने मेयर आलेको भनाइ छ ।
मेयर आलेले भने,‘यो ठाउँलाई सेनाको अस्थायी तालिमको लागि दिने निर्णय गर्दा स्थानीयलाई बुझाउन अलि गाह्रो भएको थियो । अहिले तपाई स्थानीयबासीले नै सेनाको सकृयतामा धेरै काम गर्नु भएको छ भन्ने सुन्दा खुसी लागेको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्छ ।’ प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले पनि सेनाको काम नमूनायोग्य रहेको बताए । विभिन्न समयमा रोपिएका विरुवा संरक्षण अभावमा मरेको बताउँदै उनले संरक्षणको लागि स्थानीयबासी, वन कार्यालय तथा नगरपालिकाले भूमिका खेल्नु पर्ने धारणा राखे । प्रजिअ कोइरालाले भने,‘ सेनाले यहाँ जति पनि काम गरेको छ यी कामहरु नमूनायोग्य छन् । सेनाले थालेको वृक्षारोपण तथा यस क्षेत्रको विकासमा थालेका कामको निरन्तरताको लागि नगरपालिकासँगै स्थानीय नागरिक सकृय बन्न आवश्यक छ । यहि तवरले यस क्षेत्रको विकास गर्ने हो भने स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याउने सम्भावना देखिन्छ ।’
यहाँ वृक्षारोपण गर्नका लागि डिभिजन वन कार्यालयले विरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख उदिप प्रसाद राईले जानकारी दिए । साथै रोपिएका विरुवाहरुको संरक्षणको लागि कार्यालयले घेराबाराको व्यवस्था गर्ने उनले जानकारी दिए । यहाँको पाँच हेक्टर क्षेत्रफलमा जामुन, चिउरी, रुद्राक्ष, तेजपत्ता लगाएतको विरुवा लगाउने प्रमुख राईको भनाइ छ । आठौँ चुरो दिवस तथा नेपाली सेनाको गो गृन कार्यक्रमलाई लक्षित गरेर अभियानको रुपमा यहाँ वृक्षारोपणको कार्यक्रम गरिएको हो ।