भोजपुर, १६ माघ ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाले जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई कारवाही गर्ने निर्णय गरेको छ । गाउँपालिकाको ९ औँ विशेष गाउँसभाले काममा आलटाल गर्ने, विभिन्न बहानमा जनतालाई दुःख दिने साथै जिम्मेवारीबाट पन्छिने जस्ता क्रियाकलाप गरेमा बर्खास्त गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
विशेष गाउँसभाले यहाँका विभिन्न सवालहरुमा छलफलसमेत गरेको छ । साथै गाउँपालिकाको विकासलाई परिमाणमूखीसँगै गुणात्मक बनाउने सबैले एक साथ भूमिका खेल्नु पर्ने निश्कर्ष निकालेको छ । सभा मार्फत सेवा प्रवाहको समिक्षा, राहत वितरण, शिक्षा योजना, स्थानीय सरकारी सेवा संचालन, वेरूजु सम्परीक्षण, मानेभन्ज्याङ लिफ्ट खानेपानी व्यवस्थापन, ओख्रे स्वास्थ्य चौकी भवन निर्माण लगायत विषयमा विभिन्न निर्णय गरेको छ ।
त्यस्तै कार्यपालिकाको निर्णय अनुमोदन, नदीजन्य पदार्थ उत्खनन, करार सेवामा कर्मचारी व्यवस्थापन, कोरोना महामारी व्यवस्थापन तथा नियन्त्रण, स्वास्थ्य संस्थाको लेखपरीक्षण, रकमान्तर लगायतको विषयमा निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए ।