नेपालगन्ज, ३० असोज । जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्।
सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक ९सई० बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन्। प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन्। सई रानाले आफुलाई विभिन्न दबाव दिएर जबरजस्ती बलात्कार गरेको पीडितको भनाई छ। प्रहरी बन्ने सपना बोकेर तालिम गरिरहेकी युवती प्रहरीबाटै बलात्कृत भएपछि पीडितका आफन्तले आक्रोश व्यक्त गरेका छन्।
‘प्रहरी बनेर देशको सेवा गर्लिन भनेर पठाएका थियौं, तर तालिम केन्द्र भित्रै प्रहरीबाट हाम्री चेली बलात्कारको शिकार भईन्,’ एक आफन्तले भने ‘भित्र भिदै दोषीलाई बचाउन हरेक प्रयास गरे, तर पीडितले हिम्मत गर्दा यो कुरा बाहिर आएको हो।’ पीडितका आफन्तले दोषीमाथी कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरिसकेको जनाएको छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक ९डिआईजी० पुर्णचन्द्र जोशीले बलात्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथी अनुसन्धान सुरु गर्न निर्देशन दिइएको बताए।
‘बलात्कारको घटनाबारे पीडितबाट कम्प्लेन आयो, त्यसपछि प्रहरीलाई बोलाएर अनुसन्धान गर्न जिम्मा लगाईएको छ,’ डिआईजी जोशीले नागरिक न्यूजसँग भने। घटनाको निश्पक्ष अनुसन्धान गर्न उनले बाँके प्रहरीलाई निर्देशन समेत दिएका छन्।
प्रहरी तालिम केन्द्रले भने घटनाको विषयमा प्रतिक्रिया जनाएको छैन्। दोषीलाई कारबाहीको दायरामा ल्याउनुको साटो तालिम केन्द्रले उक्त घटनालाई गुपचुप राख्ने प्रयास गरेको पीडित पक्षको आरोप छ।
पीडितको जाहेरीका आधारमा रानालाई पक्राउ गरी अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी शिव सिंहले जानकारी दिए। सई रानाले महिला प्रहरी प्रशिक्षार्थीलाई तालिम केन्द्रभित्र बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए। ‘प्रतिवादी रानालाई घटनाको अनुसन्धानका लागि जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेका छौं,’ सिंहले भने।






















