सोलुखुम्बु,२९असोज । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैँ सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो पटक हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले बढी भाडा लिने सवारीलाई कारवाही गर्दै यात्रुको रकम फिर्ता गराइरहेको छ ।बारम्बार सचेत गराउँदासमेत विभिन्न बहाना पार्दै यात्रुलाई बढी भाडा लिए पनि कतिपय यात्रु स्वयंले ढाँटेर दोषीलाई उन्मुक्ति दिने काम गरेको पाइएको प्रमुख जिल्ला अधिकारी खनालले बताए । उनले भने, ‘ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो सुन्ने र आगामी योजना निर्माण गर्ने गरी राति नै सडकमा गयौँ, हे¥यौँ धेरै कुरा बुझ्यौँ ।’
आइतबार ओखलढुङ्गाबाट सोलुखुम्बु भित्रिएको सवारीसाधानमा जाँच गर्दा सात यात्रुबाट रु ५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराइएको प्रहरी नायब उपरीक्षक चिमोरियाले जानकारी दिए । ओखलढुङ्गा सल्लेरीका लागि रु ४५० भाडा कायम गरिएको छ ।






















