शिक्षकद्वारा विद्यार्थीमाथि निर्धात कुटपिट


सप्तरी, २९ असोज । सप्तरी सदरमुकाम राजविराज स्थितशिव ईन्टरनेशनल बोर्डिङ्ग स्कुलका शिक्षकको निर्धात कुटपिटबाट सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १३ बर्षीय बालक सुमित कुमार भगत घाइते भएका छन् ।

सो विद्यालयका शिक्षक चन्दन झाले सुमितलाई फलामे पाइपले निर्धात कुटपिट गरी घाइते बनाएको बालकका आफन्तले बताएका छन् । सोमबार साँझ छोरा सुमितलाई सो विद्यालयका शिक्षक झाले गम्भीर घाइते हुने गरी फलामे पाइपले कुटपिट गरेको बुवा सदानन्द भगतले बताए । कुटपिटका कारण उनको खुट्टा, हात, पिठउ र ढाडमा निलडाम भएको छ । कुटपिट पछि घाइते भएका बालक सुमितको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई मंगलबार घर ल्याईएको छ ।

सुमितका वुवा सदानन्दले शिक्षक झा माथि कडा कारवाही तथा क्षतिपुर्तिको लागि माग गरेका छन् । छोरालाई अध्ययनका लागि विद्यालयको होस्टलमा राखेका हौं, गाई गोरु झै कुटनका लागि होइन उनले थपे यो त अति भो, यसरी यातना दिने शिक्षकलाई अभिलम्ब पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ ।सुमित विगत ६ महिना देखि उक्त विद्यालयको होस्टलमा बसी अध्ययन गर्दै आएका छन् । प्राप्त घटना विवरण अनुसार सोमबार उनी घर जान जिदी गरेका थिए । विद्यालयबाट उनको घर करिब १ कि।मि। टाढा छ ।विद्यार्थी ओसार पोसारमा प्रयोग गरिने सो विद्यालयको बस उक्त समयमा केही विद्यार्थीहरुलाई लिएर बजारतर्फ जान लागेका थिए । उनी सोही बस चढेर घर जान जिद्धी गर्न थालेपछि आक्रोशित बनेका शिक्षक झाले सोही बसमा रहेको फलामे पाईपले बालक सुमित माथि अन्धाधुन्द प्रहार गरेका थिए । शिक्षकको पिटाई पछि घाइते भएका बालक सुमितलाई तत्कालै अस्पताल पुर्याएको थियो । बालक सुमितले बसमा साथीहरु चढेर घर जान थालेको देखेर आफु पनि घर जाने भनेपछि एक्कासी शिक्षक झाले फलामे पाइपले अन्धाधुन्द प्रहार गर्न थालेको सुनाए ।

प्रिन्सिपल नरेश प्रताप साहले घटना दुखद भएको भन्दै यसबारे आवश्यक छानविन गरी दोषी शिक्षक माथि विद्यालयले आवश्यक कार्यवाही प्रकृया अगाडी बढाउने बताएका छन् । यता प्रहरीले पिडित पक्षको उजुरीका आधारमा आवश्यक अनुसन्धान र कारवाही प्रकृया अघि बढने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार