बागलुङ, २७ असोज। बागलुङको पश्चिम बडिगाड खोलामा फोटो खिच्ने क्रममा खसेर बेपत्ता महिलाको शव शनिबार आठ दिनपछि फेला परेको छ ।असोज १९ गते फोटो खिच्ने क्रममा बडिगाड खोलामा खसेर बेपत्ता तमानखोला गाउँपालिका–४ लाम्मेल घर भई हाल काठमाडौ बस्दै आएकी ३२ बर्षीया देवी श्रीपालीको शव आठ दिनपछि बडिगाड गाउँपालिका–७ तुरतुरे नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बुर्तिबाङ नजिकै बडिगाड खोलाको ठुलो ढुंगामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेर श्रीपाली बेपत्ता भएकी थिइन् । खोलामा खसेकी श्रीपालीलाई खोलाले बगाएको स्थानीयले देखेका थिए । बेपत्ताको खोजी कार्य निरन्तर भैरहँदा शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।
अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशैं मनाउन भनेर घर जाँदै गर्दा उनीहरु १८ गते बुर्तिबाङ बजारमा बसेका थिए । १९ गते घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा श्रीपाली चिप्लेर खोलामा खरेकी थिइन ।