महिला सहकारीले पाँच हजार खसीबोका काठमाडौं पठाउने


नेपालगन्ज, ११ असोज। यस वर्षको दसंैलाई लक्षित गरी बाँके र बर्दियाका महिलाले ५ हजार खसी–बोका काठमाडौं र अन्य सहरमा पठाउने भएका छन् । पछिल्लो समय मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिक रूपमा काठमाडांै तथा अन्य सहर पठाउन थालिएको हो ।

दसैं र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले ५ हजार खसीबोका बजारमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष गंगा चन्द ठकुरीले जानकारी दिइन् । उनले केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना गरेर भारतीय खसीबोका भिœयाउने चलखेल गरेको आरोपसमेत लगाइन् ।

उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध बाँकेका १५ वटा र बर्दियाका चारवटा सहकारीका ७ हजार बढी सदस्य महिलाले उत्पादन गरेका ४ हजार खसीबोका काठमाडौं र १ हजार नेपालगन्जलगायतका सहरमा पठाउन लागिएको जानकारी दिइन् । उनले राज्यले व्यवसायमुखी वातावरण दिएमा बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसीबोका पठाएर काठमाडौंमा खसीबोका अभाव हुन नदिने दाबी गर्दै भनिन्, ‘खसीबोका खरिद बिक्री गर्न काठमाडौंको कलंकीस्थित खसी बजारसँग सम्झौता भएको छ ।’ उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौंलगायतका सहरमा पठाउने गरेका छन् ।

उनले पछिल्लो दिनमा भारतबाट अनधिकृत भित्रिने खसीका कारण आफूहरूको उत्पादनले बजार नपाउने अवस्था हाल केही सुधार भए पनि प्रहरी प्रशासनले कागज हुँदाहुँदै पनि अनावश्यक दुख दिने गरेको गुनासो गरिन् ।

उनले भनिन्, ‘हामीले किसानले उत्पादन गरेका खसीबोकाको बजारीकरण गर्दै उनीहरूलाई व्यावसायसँग जोड्दै आएको अवस्थामा प्रहरीले खरिद बिक्रीको कागज हुँदाहुँदै पनि हाम्रो खसीबोका र साधन नियन्त्रणमा लिएर राखिदिँदा अनावश्यक घाटा बेहोर्नुपरेको छ । यसको सुनुवाइ गरिदिनुप¥यो ।’

महिलाले उत्पादन गरेका खसी सरकारी दररेटअनुसार खरिद गर्दै आएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था फत्तेपुरकी व्यवस्थापक विद्या गुरुङले जानकारी दिइन् ।

उनले जिउँदो खसी प्रतिकिलो ४५० देखि ५१५ रुपैयाँका दरले खरिद गर्दै आएको बताइन् । ‘खसीको शारीरिक बनोट हेरेर मूल्य निर्धारण गर्छौं,’ उनले भनिन् । उनले सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका ३ सय खसीबोका दसैंका लागि काठमाडौं पठाउने तयारी गरेको बताइन् ।

गत वर्षको दसैंमा १ सय ५० खसीबोका काठमाडौं पठाएको बताउँदै उनले यस वर्ष त्यसको दोब्बर पठाउन लागेको जानकारी दिइन् । ‘सोह्र श्राद्ध लागेदेखि १ सय ५० खसीबोका पठाइसकेका छौं । दसैंसम्म थप १ सय ५० पठाउँछौ,’ उनले भनिन् ।

दसैंका लागि लक्षित गरी किसानको घरघरबाट संकलन गरिएका ५ सयभन्दा बढी खसी बोका संघको बिक्री केन्द्र ढकेरीमा स्टकमा रहेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेले जनाएको छ । संघका अनुसार घटस्थापनासम्म २ हजार बढी खसीबोका बिक्री केन्द्रमा जम्मा गरिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार