
धनगढी, ६ असोज । कैलालीमा एक जनाले आफ्नी नाबालिका छोरीलाई विष सेवन गराएर आत्महत्या गरेका छन् । विष सेवनबाट उनकी नाबालिका छोरीको पनि मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका २५ वर्षीय रामबहादुर कलेलले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर आइतबार राति आफूले पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।प्रारम्भीक अनुसन्धानमा रामबहादुरले नाबालिका आफ्नी छोरी अनुष्कालाई सल्फास नामक बिषादी खुवाएर आफूले आत्महत्या गरेको खुल्न आएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।रामबहादुरकी श्रीमती सरिताले गत वैशाख १६ गते झुण्डिएर आत्महत्या गरेको र सरिताका माइती पक्षले रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेका थिए ।आत्महत्याको दुरुत्साहनको मुद्दापछि रामबहादुरलाई कैलाली अदालतले गत जेठ २६ गते पूर्पक्षका थुनामा पठाएको थियो । अदालतको गत साउन २२ गतेको अदालतको इजलासले रामबहादुर्र निर्दोष ठहर गरेपछि छुटेका थिए ।
रामबहादुरले अदालतबाट सफाइ पाई छुटेको करिब डेढ महिनापछि छोरीलाई विष सेवन गराएर आत्माहत्या गरेकोले घटनाबारे अनुसन्धान गरिरहेको प्रबक्ता बस्नेतले जानकारी दिए । मृतक दुईटैको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।