महिला हिंसा बढ्दै


उदयपुर, ३ असोज । उदयपुरमा महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले गाईघाटमा आयोजना गरेको महिला हिंसा न्यूनीकरणमा पत्रकारको भूमिका विषयक अन्तक्र्रियामा गत आर्थिक वर्षमा १६० वटा घटनाको तथ्यांक प्रस्तुत गरिएको हो । घटनामध्ये सबैभन्दा बढी १२६ जना महिला घरेलु हिंसाबाट प्रताडित भएका छन् ।

त्यसैगरी, बलात्कार १४, प्रयास ४, यौन दुव्र्यवहार ४, सामाजिक हिंसा ९, हत्या १, बेचबिखनको प्रयास १ र हिंसाकै कारण आत्महत्या १ रहेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका ६८ जना हिंसाको सिकार बन्न बाध्य भएका छन् । त्यसैगरी, १७ देखि २५ वर्षका ४९ छन् भने ३६ देखि ४५ का २५ जना रहेका छन् । ५५ वर्षभन्दा माथिका २ जना र १६ वर्षभन्दा मुनिका ६ जना बालिका हिंसामा परेको ओरेकका कार्यक्रम संयोजक सुमित्रा कोइरालाले बताइन् ।

यसरी, हिंसा भएका महिलामध्ये सबैभन्दा बढी श्रीमान्बाट १०८, छिमेकीबाट २३, परिवारका सदस्यबाट १८, सेवा प्रदायक संस्थाबाट २, कुनै पनि सम्बन्ध नभएका व्यक्तिबाट ५, साथीबाट २ र नजिकको साथीबाट २ रहेको उनले बताइन् । तथ्यांकले घटना हुनुको कारणको रूपमा परपुरुषसँगको लान्छना, दाइजो र सामाजिक सञ्जालको सही सदुपयोग नगरेको जस्ता रहेका छन् । विगत १४ वर्षदेखि महिला हिंसाका अभिलेखलाई व्यवस्थित गर्दै आएको ओरेकले हिंसामा परेका महिलाहरूलाई मनोविमर्श, सुरक्षावास, तथा कानुनी सेवालगायतका सेवाहरू प्रदान गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले महिला हिंसा न्यूनीकरणमा पत्रकारको भूमिकाका सन्र्दभमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जिल्लामा भएका महिला हिंसाका घटना, सञ्चारमाध्यममा आएका समाचार, विश्वका अभ्यास, विभिन्न देश तथा नेपालको सर्वेक्षणका बारेमा प्रस्तुत गरेका थिए । त्यसैगरी, हिंसा न्यूनीकरणमा पत्रकारले खेल्नुपर्ने भूमिका, उपाय, शब्दचयन, तस्बिर, भाषा, आचारसंहितामा भएका व्यवस्था र कानुनी उपचारका विषयमा प्रस्ट्याएका थिए ।

कार्यक्रममा महिलाका सवालमा मिडियाका कन्टेनहरू बदल्नुपर्ने, दोष जति महिलालाई मात्र थोपर्ने गरी प्रकाशित समाचार, अश्लील तस्बिर, भाषा, शैली, संवेदनशीलतालाई ख्याल गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले प्रहरीको अनुसन्धान र अदालतले गरेका गलत र राम्रो ढंगले गरेका फैसलालाईसमेत ध्यानदृष्टि राखी समाचारहरू प्रकाशन गरिनुपर्ने बताए । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का अध्यक्षता, उपाध्यक्ष भोटराज राईको सञ्चालन र ओरेक नेपालका कार्यक्रम संयोजक कमला खड्काको स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ प्रदेस कमिटीका सचिव हरिकुमार राई, गैसस महासंघका केन्द्रीय सल्लाहकार सिर्जना दनुवार, केन्द्रीय सदस्य महेश्वरी राई, महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष माया भण्डारी, उपाध्यक्ष देवी कटुवाल, प्रेस सेन्टरका अध्यक्ष तुलसीप्रसाद कोइराला, सामुदायिक रेडियो प्रसारक संघका सचिव वन्दना दनुवारलगायतले कार्यपत्रमाथि टीकाटिप्पणी गर्दै आआफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार