रसुवा । हेलिकोप्टरलाई सहज तवरले अवतरण गराउन उत्तरी रसुवाको स्याफ्रुवेशीमा हेलिप्याड निर्माणको प्रकृया अगाडि बढेको छ । गोशाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार गाउँपालिकाको मुख्य कार्यालय रहेको गोशाइँकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुवेशीमा आकस्मिक उद्वारको लागि हेलिकोप्टर अवतरण गर्ने मैदान निर्माणको प्रकृया अगाडि बढाइएको हो ।
राजमार्गले जोडिएको स्थान भए पनि वर्षायाममा सडक मार्ग अवरूद्व हुन सक्ने सम्भावना लाई मध्येनजर राख्दै स्थानीयस्तरका अस्पतालमा उपचार हुन नसक्ने विरामी तत्काल राजधानीका सुविधा सम्पन्न अस्पतालमा पु¥याउन हेलिप्याड निर्माणको कार्य योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय वासिन्दाको अलावा रसुवा नाकाबाट चीन आउनेजाने पर्यटक,मानसरोवर जाने तिर्थयात्रुलाईसमेत आकस्मिक कार्यमा हेलिकोप्टर सेवा लिन सहज हुने बताइएको छ । हेलिप्याड निर्माणको लागि स्याफ्रुवेशी स्थित चिलिमे जल विधुत केन्द्रको कार्यालय जाने सहायक मार्गको मुनि अर्थात बौद्ध छुर्तेन मन्दिरको नजिक एकसाथ वि थ्रि मोडलका २ ओटा हेलिकोप्टर अवतरण गर्न सक्ने खालको हेलिप्याड निर्माणको डिजाएन बनाइएको गाउँपालिकाका सवईन्जिनीयर प्रेमप्रकाश बस्नेतले जानकारी दिनु भयो ।




















