केही दिनअघि पुर्बेली न्युजमा जनताले आशा र भरोसा गरेर जिताएका जनप्रतिनिधिहरुका पछिल्ला हर्कतका बारेमा लेखिएको एउटा लेखलाई लिएर अधिकांश जनप्रतिनिधिहरुले पित पत्रकारिता गरेको आरोप लगाए । अधिकांश समय सेल्फी खिच्ने र पुराण देखि श्राद्ध सम्ममा प्रसादी ग्रहण गरेरै समय बिताउने जनप्रतिनिधिका केही उदाहरण सहित लेखिएको लेखमा उनीहरुले जनताप्रति गरिएको बेईमानीलाइृ प्रष्टयाईएको थियो ।
सोही लेख लेखेको एक साता नबित्दै यतिधेरै जनप्रतिनिधिहरुका असली हर्कत बाहिर आएका छन जुन सुन्दा समेत घृणा लागेर आउँछ । यो लेखको आशय जनताको काम गर्ने र जनउत्तरदायी जनप्रतिनिधिलाई अपमान गर्ने होईन । ती जनप्रतिनिधिको खोल ओढेर समाजमा बिकृति फैलाउनेहरुको बिरुद्धमा हो । पछिल्लो समय कुखुरा चोरेर खानेदेखि अर्काकी श्रीमतीलाई गर्भवती बनाउने सम्मका हर्कत गर्न जनप्रतिनिधि उद्धत देखिएका छन ।
मदिरा सेवन गरी वडाअध्यक्ष वडाबासीलाई थर्काउँछन
दिउँसै मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले उजुरी गरेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए । ‘दिउँसै मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भनेर स्थानीयले उजुरी गरेपछि हामीले वडाअध्यक्ष खत्रीलाई नियन्त्रणमा लिएका हौं,उहाँ अहिले प्रहरीमै हुनुहुन्छ ।’ शर्माले भने खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए । अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन् । खत्री सावीकको फेदिगुठ गाविस हालको चम्पादेवी गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वा्चित वडा अध्यक्ष हुन् ।
अर्काकी श्रीमती गर्भवती बनाउने वडा सदस्य पक्राउ
श्रीमान विदेशमा रहेकी एक महिलालाई करणी गरेको आरोपमा पाँचथरका वडा सदस्य पक्राउ परेका छन् । छिमेकी महिलालाई गर्भवती बनाएको आरोपमा वडा सदस्य कमल गुरुङ पक्राउ परेका हुन् । अनुसन्धानका क्रममा महिलाको पेटमा तीन महिनाको गर्भ रहेको खुलेको बताइएको छ ।
घटना सार्वजनिक भएपछि जनप्रतिनिधिसहितले गाउँमै मिलाउन खोज्दा गुरुङले ती महिलासँग आफूले शारीरिक सम्पर्क गरेको अस्वीकार गरेपछि घटना प्रहरीसम्म पुगेको हो । गुरुङविरुद्ध शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको छ ।
प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि आफूले शारीरिक सम्पर्क राखेको स्वीकार गरेको बताइएको छ ।महिलाका श्रीमान वैदेशिक रोजगारीको क्रममा दुई बर्षदेखि मलेसियामा छन् ।
मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए
मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् ।पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र, उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगेको थियो ।
प्रहरीले मेची आम्दा हस्पिटल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो । बुधवार जिल्ला समन्वय समितिकी सदस्य गङ्गा कार्की समेत काम विशेषले वडा कार्यालय आएकी थिइन् । उनीसहित वडा कार्यालय पुगेका स्थानीय व्यक्ति र वडा सदस्यहरुलाई वडाध्यक्ष न्यौपानेले मातेको सुरमा तथानाम बोलेका थिए ।
उपप्रमुखले वडा सदस्य कुटिन्
बजेट फरछ्यौटको विषयलाई लिएर सुनसरीको दुहवी नगरपालिकाकी उपप्रमुखले वडा सदस्यमाथि हातपात गरेकी छन् । उपप्रमुख सुनिता दाहाल साहले वडा नम्बर ५ का सदस्य कृष्ण योञ्जनमाथि हातपात गरेकी हुन् । दुई निर्वा्चित जनपदाधिकारीबीच हात हालाहाल भएपछि नगरपालिकामा शुक्रबार दिउँसो तनावग्रस्त बन्नेपछि सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो । उपप्रमुखले कार्यालय परिसरमै सदस्यमाथि हात हालेपछि दुई पक्षबीच तनावको अवस्था सिर्जना हुनपुगेको थियो ।
पीडित पक्षले उपप्रमुखको रवैयाप्रति प्रश्न उठाउँदै राजीनामाको माग गरेका थिए । स्थानीयहरूले कार्यालय घेराउसहित प्रदर्शन थालेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । दुहवी ५ मा रहेको खेल मैदान पुर्ने कामका लागि गठित उपभोक्ता समितिको बजेट फर्छ्यौटको विषय उपप्रमुख समक्ष पुगेको थियो । वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण योञ्जनसहित पुगेको टोलीसँग विवाद चर्केपछि शाहले हातपात गरेको योञ्जनले बताए । वडा अध्यक्षसहितले बजेट फर्छ्यौटको माग गर्दा उपप्रमुखले कामको मूल्यांकन गरेर मात्र स्वीकृत गर्ने बताएपछि चर्काचर्की सुरु भएको उनको भनाइ छ ।
थाईल्याण्डमा बैठक गर्ने फुर्ती
नगरपालिकाको पैसामा मोजमस्ती गर्ने र अर्कै जिल्लामा गएर बैठक बस्ने मोरङका एक नगरपालिकाका मेयरको असली रुप बाहिर आएपछि उनका निकट मार्फत अबको बैठक थाईल्याण्डमा गरेर देखाउने र आफुले जे गरेपनि हुने भन्दै फुई हाँक्न थालेका छन । श्री ३ जंगबहादुुरको शैलीमा उदाएका नवउदीयमान मेयरले आफना पार्टीका बाहेक अरुलाई मान्छे गन्नु त परै जाओस,प्रतिभा भएका ब्यत्तिलाई पाखा लगाएर नक्कली सर्टिफिकेटधारी आफन्तलाई समेत जागिर खुवाएका छन ।