सुखद सम्भोगका तरिका


सुखद सम्भोगका प्यारामिटर – मानिसको जीवनमा यौनको भूमिका ठूलो छ । यद्यपि, सम्भोग गर्दैमा चरमोत्कर्षमा पुगिन्छ भन्नचाहिँ सकिँदैन । त्यसका लागि पुरुष–महिला दुवैको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य तन्दुरुस्त हुन जरुरी छ । स्वस्थ सम्भोगका लागि स्वस्थ स्नायु प्रणाली अपरिहार्य हुन्छ । स्वस्थ मुुटु र रक्तसञ्चार प्रणालीले सम्भोगलाई सुखद बनाउँछ । तनावरहित गहन विश्रामले स्नायु प्रणाली, मुुटु र रक्तसञ्चार प्रणालीलाई स्वस्थ बनाउँछ । त्यसैले स्वस्थ सम्भोगका लागि निम्न कुरामा ध्यान पुर्‍याउन जरुरी छ स्

आदर्श प्रधान
मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी

१। हालै अमेरिकामा गरिएको अनुसन्धानले नियमित व्यायाम गर्दा पुरुषको यौन क्षमता विकास हुने निष्कर्ष निकालेको छ । नियमित व्यायामका कारण महिलामा पनि यौन क्षमता बढेको पाइएको छ । त्यसको बायोलोजिकल कारण के भने व्यायामले प्रजनन अंगमा रक्तसञ्चार बढाउँछ । यसले टेस्टोस्टेरोन हर्मोनको मात्रा पनि बढाउँछ । जसले उत्तेजनालाई बढाई सम्भोगको चरमोत्कर्षमा पुर्‍याउन मद्दत गर्छ । व्यायाम यसरी नै गर्नुपर्छ भन्ने कुनै नियम छैन । आफ्नो इच्छाअनुसार हिँड्ने, पौडी खेल्ने, योग, नृत्यजस्ता क्रियाकलाप दैनिक ३० मिनेटजति गर्दा हुन्छ ।

२। फलफूल र तरकारीको बढी प्रयोग स्वास्थ्यका लागि फाइदाजनक छ । यस्ता खाद्यान्नमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ र यसले स्नायु र हृदयलाई स्वस्थ एवं बलियो राख्ने काम गर्छ । बोसोजन्य चिल्लो पदार्थ, दूधले बनेका पदार्थ, जंकफुडको प्रयोग सकेसम्म कम गर्नुपर्दछ । किनभने, यस्ता खाद्यान्नमा एन्टिअक्सिडेन्ट अत्यन्त न्यून मात्रामा हुन्छ । जसले मुटुको धमनीहरू साँघुरो भएर रक्तसञ्चारमा बाधा उत्पन्न हुन्छ । यस्ता खाद्यान्नको प्रयोगले प्रजनन अंगमा पनि रक्तसञ्चारको मात्रालाई कम गराउँछ । साउथ कोरिया विश्वविद्यालयले तीन हजार दुई सय ५० पुरुषमा गरेको अनुसन्धानअनुसार कोलेस्ट्रोलको मात्रा बढेको पुरुषमा यौन समस्या पाइएको छ । त्यसैले खानामा बोसो, चिल्लोको प्रयोगभन्दा पनि सलादको मात्रा बढाउनु राम्रो हुन्छ।

३। मोटोपनले पनि स्वस्थ सम्भोगमा बाधा उत्पन्न गर्छ । त्यसैले मोटोपन घटाउन जरुरी छ । सम्भोगका वेला मोटोपन भएकाहरू छोटो समयमै थकित हुने समस्या पनि हुन्छ । त्यसैले नियमित व्यायाम र खानपानमा व्यवस्थापन गरी मोटोपन घटाउनु स्वस्थ सम्भोगका लागि फलदायी हुन्छ ।

४। यौन क्रियाकलापमा समस्या सिर्जना गर्ने अर्को तत्व भनेको तनाव पनि हो । तनावले प्रजनन अंगमा व्यवस्थित रक्तसञ्चारमा बाधा उत्पन्न गर्नुका साथै टेस्टोस्टेरोन हर्मोनको सक्रियतालाई कम गर्छ । तनावले मानसिक समस्या बढाउँछ र यौन क्षमता घटाउँछ । तनावलाई व्यवस्थित गर्नका लागि व्यायाम, योग, ध्यान, प्राणायाम, संगीत श्रवण, नृत्यलगायतको बानी विकास गर्न आवश्यक हुन्छ ।

५। थुप्रै अध्ययनले देखाएका छन् कि धूम्रपानको बढी प्रयोगले यौन इच्छामा कमी ल्याउने काम गर्छ । अत्यधिक मध्यपानका कारण पनि स्नायु प्रणाली शिथिल बन्न थाल्छ । केही पुरुषले मध्यपानले सम्भोगलाई सुखद बनाउने प्रतिक्रिया दिए तापनि त्यसमा सत्यता छैन । विज्ञानले भन्छ कि मध्यपानले लिंगको कडापनलाई शिथिल बनाउँछ । तर, रेड वाइनको चाहिँ लिमिट प्रयोग गर्दा हुन्छ।

६। अपूर्ण निद्राले शरीरको ऊर्जामा कमी ल्याउँछ र मानिसले कमजोर महसुस गर्न थाल्छ । यसले टेस्टोस्टेरोन हर्मोनको सक्रियतालाई समेत कम गरिदिन्छ र यौन क्षमतामा ह्रास ल्याउन भूमिका खेल्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार