
युवराज विष्ट
भोजपुर, १५ कात्तिक ।
भोजपुरमा बसोबास गर्दै आएका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भूतपूर्व सैनिक सम्मेलन–२०८३ मा सहभागी हुन आह्वान गरिएको छ । श्री नयाँ श्रीनाथ गण, भोजपुर ब्यारेकले सूचना जारी गर्दै जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरण प्राप्त गरिरहेका व्यक्तिलाई सम्मेलनमा सहभागी हुन अनुरोध गरेको हो ।
सम्मेलनमा सहभागी हुन इच्छुकले आगामी कात्तिक ३० गतेसम्म नाम दर्ता गराउन सक्ने जनाइएको छ । गणका अनुसार अनलाइनमार्फत तथा श्री नयाँ श्रीनाथ गण, भोजपुरमा स्वयं उपस्थित भएर नाम दर्ता गर्न सकिनेछ । अनलाइन दर्ताका लागि नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलनसम्बन्धी आधिकारिक वेबसाइटमार्फत प्रक्रिया पूरा गर्न सकिने व्यवस्था मिलाइएको छ । स्वयं उपस्थित भएर दर्ता गर्दा गणका कर्मचारीले सहजीकरण गर्ने जनाइएको छ ।
दर्ताका लागि पेन्सन पट्टाको डिजिटल प्रति, पासपोर्ट आकारको फोटो र नागरिकता आवश्यक पर्ने सेनाले जनाएको छ । सम्मेलन आगामी मङ्सिर १४ गते धनकुटाको हिलेस्थित श्री नं. २ बाहिनी अड्डाको उपकेन्द्रमा आयोजना हुने जनाइएको छ ।
शारीरिक अशक्तताका कारण उपस्थित हुन नसक्नेले प्रमाण पेस गरेमा श्रीमतीले पेन्सनपट्टा लिएर सहभागी हुन पाउने व्यवस्था गरिएको सेनाले जनाएको छ ।
सम्मेलनका क्रममा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ महिलालाई सम्मान तथा फरक क्षमता भएका तथा अशक्तलाई ह्विल चेयर तथा वैशाखी वितरण गरिने सेनाले जनाएको छ ।
‘भूतपूर्व सैनिकको सम्मेलनको प्रण : पुनर्मिलन हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने नाराका साथ सेनाले सम्मेलन गर्न लागेको हो ।
























