अस्पतालको लापरवाहीको, ​कारण तिम्लाहा छोरी जन्माएकी अञ्जुको मृत्य


विराटनगर,९ माघ । माघे संक्रान्तिको दिन सबै आफ्नै घरमा संक्रान्ति मनाउने तयारीमा थिए । त्यही तयारीमा थिए, उदयपुरको चौदण्डीगढी नगरपालिका–९, का अञ्जु तामाङको परिवार । अञ्जुको सुत्केरी हुने महिना पूरा भइसकेकाकाले उहाँको परिवार सतर्क थियो ।

अञ्जुलाई त्यही दिन ब्यथाले च्याप्यो पनि । आफन्त, छिमेकी र श्रीमानसहितले अञ्जुलाई सिधै विराटनगरको कोशी अञ्चल अस्पताल पु¥याए । कोशी अञ्चल अस्पतालले अञ्जुको पेटमा ३ वटा बच्चा रहेकाले जोखिम हुने भन्दै आइसियु र एनआइसीयुको व्यवस्था भएको नोबेल अस्पताल लैजान सुझाव दिए । आइसियु र एनआइसीयुको आवश्यकता पर्न सक्ने तर आफूहरुको नभएकाले नोबेल लैजान काशी अञ्चल अस्पतालको सुझाव थियो ।

आफन्तले अञ्जुलाई माघ १ गते नै नोबेल मेडिकल कलेजमा भर्ना गरे । भर्ना गरेको केही समयपछि नै सामान्य तरिकाले नै ३ छोरी जन्माउनुभयो । माघ १ गते छोरी जन्माएकी अञ्जुले ६ गतेसम्म अस्पतालमा नै बसेर स्वास्थ्य लाभ गर्नुभयो । सुत्केरी सामान्य अवस्थामा फर्किएकोले ६ गते नै डिस्चार्ज हुने दिन थियो । मृतकका श्रीमान प्रदीप तामाङका अनुसार डिष्चार्जका लागि तयारी भइरहेका बेला चिकित्सकले एक पटक रगत जाँच गर्न सल्लाह दिए ।

रगत जाँच गरेपछि रिपोर्ट हेरेर रगत कम भएकाले तत्काल रगत चढाउन भने । डाक्टरले नै दिएको सल्लाहा नमान्ने कुरौ थिएन । प्रदीपले रगत चढाउने मेलोमेसो मिलाउनुभयो । तर रगत चढाउन सुुई लगाए लगत्तै अञ्जुले शरीर पोल्न थाल्यो भन्दै गुनासो गरिरहेको प्रदीप बताउनुहुन्छ । ‘रगत दिन थालेपछि नै शरीर पोल्यो, छाति दुख्न थाल्यो भनिरहेकी थिइन्’ प्रदीपले सुनाउनुभयो ।

तीन पाउण्ड रगत चढाएपछि शरीरले रगत लिन छाडेको र चिकित्सकहरूले तत्कालै अञ्जुलाई आइसियुमा लगेको उहाँ बताउनुहुन्छ । ‘आइसियुुमा पुुर्‍याए पछि तत्काल औषधि लिएर आउनु भन्दै डाक्टरले औषधिको कागज दिए’ प्रदीपले भन्नुभयो ‘औषधि किनेर पनि ल्याए, आइसियुमै उपचार भइरहेकी उनी रहिनन् भनेर डाक्टरले केहिबेर पछि नै सुनाए ।’

प्रदीपको आरोप छ ।अञ्जुका ससुरा सुनकुमार तामाङका अनुसार डाक्टरले सुुई लगाएपछि नै बिरामीको अवस्था बिग्रिएका थियो । तर अस्पताल प्रशासनले भने बिरामीका आफन्तले लगाएको आरोप निराधार रहेको भन्दै डाक्टरले कुनै लापरवाही नगरेको दावी गरेको छ ।

उपचार खर्च फिर्ता, गाई किन्न एक लाख
अञ्जुको निधन भएपछि परिवारले डाक्टरको लापरवाहीले ज्यान गएको भन्दै आफन्तले शव उठाएनन् । दुई दिनको छलफलपछि अस्पतालले ५ वर्षसम्म बच्चाको निशुल्क उपचार गर्ने कार्ड बनाइदिएको छ भने उपचारमा लागेको ५० हजार रुपैयाँ पनि फिर्ता गरेको छ ।

यस्तै बच्चालाई दूधको व्यवस्थाको लागि गाई किन्न परिवारलाई एक लाख रुपैयाँ दिने सहमति पनि भएपछि शव उठाएको छिमेकी चन्द्रलाल गिरीले जानकारी दिनुभयो । सोमबार बेलुकी भएको सहमतिपछि अञ्जुको शव उदयपुर लगिएको छ । अञ्जुले अस्पतालमै ज्यान गुमाए पनि नवजात तीनै वटा शिशुहरूको अवस्था भने सामान्य रहेको छ । सामान्य तरिकाले नै जन्मिएका बच्चाहरूको तौल २ किलो भन्दा माथि छ । जेठीको २ किलो पाँच सय ग्राम, माइलीको दुई किलो तीनसय ग्राम र कान्छीको २ किलो एक सय ग्राम तौल छ ।

श्रीमतीको मृत्यु भएपछि भर्खर जन्मेका तीनवटै छोरीको विजोग प्रदीपले बताउनुभयो । श्रीमति गुमाउँदाको पीडासँगै आफूलाई तीन छोरी हुर्काउन चुनौति थपिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार