भोजपुर, १८ मङ्सिर ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको छ । खस्किदो शैक्षिक गुणस्तर सुधारको लागि गाउँपालिकाले योजनावद्ध विकासमा जोड दिएको हो ।
सामुदायिक विद्यालयको समस्या पहिचान तथा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नु पर्ने कार्यहरुको विषयमा जानकारी लिनको लागि सरोकारवाला पक्षसँग आवश्यक सुझाव संकलन थालेको छ ।
गाउँपालिकाले हालसम्मको शिक्षाको समसामहिक अवस्थाको विषयमा जानकारी गराउँदै शैक्षिक सुधारको लागि आगामी दिनमा सम्वद्ध पक्षले खेल्नु पर्ने भूमिकाको विषयमा योजनावद्ध रुपमा काम अघि बढाएको छ ।
गाउँपालिकाले खस्किदो शैक्षिक क्षेत्रको सुधारको लागि यहाँका ३२ वटा विद्यालयका सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रनिधिहरुसँग अन्तरक्रिया तथा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत समुह निर्माण गरेर शैक्षिक सुधार लागि गर्न पर्ने कार्यको बारेमा रणनीति तयार गरिएको हो ।
हालको नतिजालाई थप सुधारको लागि शिक्षक, विद्यालय व्यावस्थापन समिति तथा गाउँपालिकाले गर्नु पर्ने कामको विषयमा सहभागीहरुले आफ्नो लिखित सुझाव दिएका छन् । सहभागीहरुले आवश्यक कार्यविधि तयार गरेर गाउँपालिकाले अनुगमनमा जोड दिनु पर्ने साथै स्थानीय सरकारले पुरस्कार र दण्डको नीतिलाई अवलवन गरेर कडाई साथ अघि बढ्नु पर्ने बताए । विद्यालयहरुको आवश्यकताको आधारमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्नु सहभागीको भनाइ छ ।
सामुदायिक विद्यालयहरुबाट राज्यको लगानी अनुसारको प्रतिफल आउन नसकेकाले शैक्षिक सुधारका लागि गर्नु पर्ने कामको विषयमा सरोकारवाला पक्षसँग आवश्यक सुझाव संकलन थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाको शिक्षाको क्षेत्रमा रहेका समस्याहरुको पहिचान गरेर त्यसको समाधानमा जुट्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनावद्ध रुपमा जुटेको उहाँको भनाइ छ ।
“गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनावद्ध रुपमा काम गरिरहेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“तथापी पनि सोचे अनुसारको परिणाम आउन सकेको अवस्था छैन । कसरी गुणस्तरिय शिक्षा दिन सकिन्छ भन्नको लागि सवै विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिसँग छलफल गरेर आवश्यक योजना निर्माण गरिरहेका छौँ ।” विगतका दिनहरुबाट विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाको तर्फबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ ।
सामुदायिक विद्यालयको खस्किदो गुणस्तर सुधारको लागि सवै पक्ष गम्भिर बन्न आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । शैक्षिक गुणस्तर सुधारका लागि सवैले आफ्नो क्षमतालाई सहि ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । प्रविधिमूलक शिक्षणमा विद्यालयहरुले जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
पौवादुङमाका एक विद्यार्थी बराबर राज्यको तर्फबाट वार्षिक रुपमा रु.४४,९९२ रुपैँया लगानी भइरहेकाले यो लगानीको सदुयोगमा सवैले ध्यान दिनुपर्ने गाउँपालिको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गत वर्ष गाउँपालिकाको एसईई उतिर्ण प्रतिशत ६ दशव ५ रहेको शिक्षा शाखाले जनाएको छ । विद्यार्थीहरुको आन्तरिक मुल्याङनको तथ्याङ्क राम्रो देखिएपनि बाह्य मुल्याङकनमा भने कमजोर देखिएको शाखाको भनाइ छ ।
कार्यक्रम बोल्दै कोशी प्रदेश सांसद विनोद वान्तावाले राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल आउने गरी शैक्षिक गतिवधिलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री र जीवन उपयोगी बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
गाउँपालिकाको कक्षा १ देखी ५ सम्म आन्तरिक मुल्याङ्कन मापदण्ड कार्यन्वयनको अन्तिम चरणमा रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कट्वालले जानकारी दिनुभयो । अवका दिनमा शैक्षिक सुधार लागि यसको आधारमा विद्यालयको आन्तरिक मुल्याङकन तथा अनुगमन गरिने उहाँको भनाइ छ । यहाँका सम्पूर्ण विद्यालयहरुमा दुई हजार तीन सय हारहारी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।