भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास


भोजपुर,१७ मङ्सिर ।
भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका ८ पोखरेमा भवनको शिलान्यास गरिएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेकपा(एमाले) स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।


भवन निर्माणको लागि कोशी प्रदेश सरकारले रु. २५ लाख र स्थानीय पालिकाबाट रु. १४ लाख ५० हजार बजेट विनियोजन भएको राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति भोजपुरका अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । यो भवनबाट जिल्लाको शैक्षिक अवस्था तथा नविनतम विषयबस्तुको खोज तथा अनुसन्धान गरिने अध्यक्ष रेग्मीको भनाइ छ ।
“शैक्षिक क्षेत्रको विकास तथा खोज अनुसन्धान गर्ने लक्ष्यले शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरेका छौँ” अध्यक्ष रेग्मीले भन्नुभयो,“भवन निर्माणको लागि प्रदेश सरकारसँगै स्थानीय पालिकाहरुको बजेटमा निर्माण थालेका छौँ । शिक्षहरुबाट पनि स्वतःस्फूर्त रुपमा रकम संकलन गरिरहेका छौँ ।”

 

अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणको लागि पौवादुङमा गाउँपालिकाबाट रु. तीन लाख, टेम्केमैयुङ गाउँपालिकाबाट रु.दुई लाख ५० हजार, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र अरुण गाउँपालिकाबाट दुई/दुई लाख, हतुवागढी, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाट रु.एक/एक लाख गरी पालिकाहरुबाट रु.१४ लाख ५० हजार बजेट विनयोजन भएको जनाइएको छ ।
संगठनको नाममा रहेको तीन रोपनी, एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण थालिएको संगठनका सचिव विष्णुकुमार राईले बताउनुभयो ।


भवनको शिलान्यास गर्दै पूर्व मूख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले अनुसन्धान केन्द्र शिक्षक भवनले यहाँको शैक्षिक विकास तथा खोज अनुसन्धानमा सहयोग पुग्ने बताउनुभयो । सामुदायिक विद्यालयहरुको खस्किदो शैक्षिक अवस्थाको सुधारसँगै भोजपुरबाट उत्पादित जनशक्तीलाई सक्षम र सफल बनाउन भवनको प्रयोग हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
“शैक्षिक सुधारको लागि एक ऐतिहासिक कामको थालनी भएको छ”उहाँले भन्नुभयो,“यो भवनलाई शैक्षिक सुधारको अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्छ । हामीले दक्ष शैक्षिक जनशक्ति उत्पादनमा जोड दिन अवश्यक छ । यसले जिल्लाको समग्र शैक्षिक सुधारमा अग्रनी भूमिका खेल्नेमा आशावादी छु ।”


कार्यक्रममा बोल्दै कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले कोशी सरकारले योजनाबद्ध विकासमा जोड दिएको बताउनुभयो । जिल्लामा एउटा शैक्षिक अनुसन्धान केन्द्रको अवश्यकता रहेको ठहर गरेर प्रदेश सरकारले भवन निर्माणको लागि बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।
कोशी प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएका योजनाहरुलाई समयमा सम्पन्न गराउन आवश्यक पहल कदमी गरिरहेको राज्य मन्त्री राईले जानकारी दिनुभयो ।


कार्यक्रम बोल्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले शैक्षिक अनुसन्धान केन्द्र निर्माणको लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गरेको बताउनुभयो । भवन निर्माणले शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धानमा टेवा पुग्ने राख्नुभयो ।


कार्यक्रममा एनएनटिय राष्ट्रिय समिति सदस्य यदु सुवाल, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामप्रसाद अधिकारी, पूर्व शिक्षक नेतृत्व तथा निवृत शिक्षक रमेश नेपाल, एनएनटिय पूर्वराष्ट्रिय समिति सदस्य देवी तामाङ, एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्का, एमाले जिल्ला सचिव एक्सन राई, नेपाल शिक्षक महासंघ जिल्ला समिति भोजपुरका अध्यक्ष राजधन राई नेपाल बुद्धिजिवी परिषद्का अध्यक्ष उत्तम सिंह राई, नेपाल शिक्षक महासंघ पूर्व अध्यक्ष तीर्थकुमार राईलगायत सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार