चिया खेतीमा रमाएका भोजपुरका युवा व्यावसायी रन्जित


भोजपुर, ११ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ का ३५ वर्षिय रन्जित गिरीको समय चिया हेरचाह र टिपिएको चियाको प्रशोधनमा वित्ने गरेको छ । व्यावसायी गिरीले आफ्नो ८० रोपनी क्षेत्रमा चिया विस्तार गर्नु भएको छ ।
युवा व्यवासायी गिरी भोजपुरमा चियाको क्षेत्रमा एक उदाहरणीय व्यवसायी बन्नु भएको छ । विगतमा हातको सहायताले चियाको प्रशोधन गर्दै आउनु भएका गिरीले २०७६ सालबाट गरस चिया उद्योग सञ्चालन गरिरहनु भएको छ । यो उद्योग भोजपुर जिल्लामा चियाको क्षेत्रमा एक र पहिलो उद्योग पनि हो । हालसम्म चियाको लागि करिव रु. दुई करोड ५० लाख लगानी गरेको व्यावसायी गिरीले जानकारी दिनुभयो । “भोजपुरमा चियाको लागि रु. दुई करोड ५० लाख लगानी गरिसकेको छु”व्यावसायी गिरीले भन्नुभयो,“उत्पादन भएको चियालाई उद्योगमा प्रशोधन गरेर बजारमा पठाउदै आएको छु । अर्गानिक चिया भएकाले देशका ठुला शहरसँगै विदेशसम्म जान थालेको छ । उत्पादित चियाको बजारीकरणमा कुनै समस्या छैन ।”

गिरीले बाह्र वर्ष अघिबाट चियाको व्यावसायिक खेती थालेको बताउनुभयो । शुरुमा सामन्य रुपमा उहाँका बुवा शरमान गिरीले थालेको चिया खेतीलाई निरन्तरता दिँदै उद्योग सञ्चालनसम्म आएको उहाँले बताउनुभयो । युवा व्यवसायी गिरीले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट टे«ड मार्कसमेत पाईसकेको छ । चियाले उचित मुल्य पाएको खण्डमा बार्षिक रु.२५ देखी ३० लाखसम्म आम्दानी लिन सकिने उहाँले बताउनुभयो । आफ्नो उद्योगमा उत्पादन भएको अर्गानिक हरियो चिया(ग्रिन टि) प्रतिकेजी रु. एक हजार आठ सय, कालो चिया रु.एक हजार दुई सय र सिल्भर चिया रु. ३० हजारमा विक्री गर्दै आएको बताउनुभयो । चिया उद्योग सञ्चालनको लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहन स्वरुप रु. १७ लाख ५० हजार अनुदान पाएको बताउनुभयो ।

“उद्योगबाट तीन प्रकारको चिया उत्पादन गर्दै आएका छौँ” उहाँले भन्नुभयो,“सिल्भर चियाको मुल्य रु.३० हजार पर्छ । उत्पादित चियाले उचित मुल्य पाउने हो भने बार्षिक रु.२५ देखी ३० लाखसम्म आम्दानी गर्न सकिन्छ ।” हाल ८० रोपनी क्षेत्रफलमा भएको चियाले उत्पादन दिन थालेको उहाँले बताउनुभयो । यसलाई थप विस्तार गर्ने काम भईरहेको उहाँको भनाइ छ । उद्योगमा नियमित रुपमा पाँच जनाले रोजगारी पाईरहेको व्यवसायी गिरीले जानकारी दिनुभयो ।

गिरीले चिया बगान गुम्न आउने आन्तरिक तथा बाध्य पर्यटकलाई लक्षित गरेर चिया बगान भित्र नै टेम्के फन पार्क तथा रिसोर्ट पनि सञ्चालन गरिरहनु भएको छ । करिव एक वर्ष अघिबाट सञ्चालनमा आएको रिसोर्टमा लागि रु. ९० लाख लगानी गरेको उहाँको भनाइ छ । “भोजपुरमा पनि चियाको राम्रो सम्भावना छ”उहाँले भन्नुभयो,“ चियाको लागि हाम्रो भूगोल निकै उपयोगि छ । अहिले भोजपुरमा उत्पादन भएको चियाको बजारमा माग राम्रो छ । चिया खेती विस्तारले आन्तरिक तथा बाह्य पर्यटकको आवगमनसमेत बढेको छ । आउने पर्यटकलाई लक्षित गरेर फन पार्कसँगै रिसोर्ट पनि सञ्चालन गरिरहेको छु ।”

बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिनुभयो । चियाको नर्सरीसमेत आफँै गर्दै आएको गिरीको भनाइ छ । चिया खेती विस्तार गर्न चाहने अन्य किसानहरुलाई आवश्यक सल्लाहसमेत दिँदै आएको गिरीले बताउनुभयो ।  युवा व्यवसायी गिरीले सञ्चालन गरेको चियाखेती जिल्लामा नै उदाहरणीय रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । व्यवसायी गिरीलाई प्रोत्साहन गर्न वडाको तर्फबाट सडक मर्मतको लागि रु. तीन लाख सहयोग गरेको बताउनुभयो । “यो जिल्लाको एक मात्र चिया उद्योग हो”वडाध्यक्ष राई भन्नुभयो,“चिया भन्ने वितिकै मानिसहरुले इलामलाई सम्झने गरेका छन् । तर यो चिया खेती जिल्लाको नमूना र उदाहरणीय छ । यसलाई पर्यटनसँग जोडेर पनि आम्दानी श्रोतको रुपमा लिन सकिन्छ । यसको लागि स्थानीय सरकारले पनि आवश्यक प्रोत्साहन गर्दै आएका छौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार