मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता


विराटनगर,३० फागुन ।

 प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदूत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ।आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन्।

भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरू मुख्यमन्त्री राईलाई जानकारी गराइन्। त्यस्तै, राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको पनि बताइन्। संघीयता लागू भएको देशहरूमा पनि यसको कार्यान्वयनमा समय लागेको उनको धारणा थियो। संघीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राखिन्। उनले प्रदेश १ सरकारले गरेका कामको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताइन्। भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलोपटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए। “नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ”, मुख्यमन्त्री राईले भने। प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शून्य संरचनाबाट शुरू भएर यो दुई वर्षमा महत्वपूर्ण आधार तयार भएको जानकारी गराए। “हाम्रा लागि यो दुई वर्ष निकै महत्वपूर्ण वर्ष रहे”, मुख्यमन्त्री राईले भने, “कानून निर्माण र आवश्यक संरचनाहरू तयार भएका छन्।”

प्रदेश तहमा जनशक्ति अभाव रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश लोकसेवा आयोग गठन भएकोले समस्या समाधान हुने बताए। जनताका असीमित चाहना र सीमित स्रोतकाबीच काम गरिरहेको मुख्यमन्त्री राईले बताए। प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजना, १० वर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको भेटवार्ताका क्रममा बताए। मुख्यमन्त्री राईले साना सिँचाइ, शहरी विकास, पर्यटनको गुरुयोजना बनिरहेको बताउँदै चिफ मिनिस्टर ड्यास बोर्डको काम भइरहेको बताए। रूपान्तरणकारी योजनाहरूको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री राईले बताए।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धी विधेयक प्रदेश सभामा पेश भएको बताउँदै उक्त विधेयकले वालबालिकाको अधिकार सुनिश्चित हुने बताए। प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाको बारेमा जानकारी गराए।भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क वीचलगायतको टोली उपस्थिति थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार