घरायसी विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ


रौतहट, ९ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रीमानको हत्याको आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । जिल्लाको गौर नगरपालिका वाड नं। ५ कोइरीटोल बस्ने जरिना खातुनलाई श्रीमान हत्या गरेको आरोपमा बिहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती जरिनाले गत कार्तिक ४ गते श्रीमान ३५ बर्षीय इस्लाम अंसारीको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले जानकारी दिएका छन् ।अन्सारीले अत्याधिक मादक पदार्थ सेवन गरी सुत्ने खाटबाट लडी घाइते भएको र जिल्ला अस्पताल गौर उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको भन्ने सूचनाको आधारमा शंका लागेर प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धान टोलीले घटनास्थल र शव जाँच मुचुल्का समेतको कार्य सम्पन्न गर्दा उक्त मृतक लाश शंकास्पद देखिएकोले सो घटनाको थप अनुसन्धान गर्ने क्रममा निज मृतक ईस्लाम अन्सारी र निजको श्रीमतीको प्राय घरायसी झगडा पर्ने गरेको र राती ११ बजेको श्रीमान श्रीमतीको वादविवाद भएकोमा मृतक ईस्लाम अन्सारीको श्रीमती जरिना खातुनले आवेशमा आई प्लाष्टिकको डोरीले घाँटीमा कसी कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीको अनुसन्धान छ ।

जरिनाले घटना लुकाउनको निमित्त गाउँ घर, छरछिमेकमा श्रीमानले मादक पदार्थ सेवन गरी लडेको कारण अस्पताल लैजान हार गुहार गरेको खुल्न आएको समेत प्रहरीले जनाएको छ । अभियुक्त जरिना खातुनलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार