लहान, २७ असोज । २०६४ सालमा आपराधिक समूहबाट दाइको हत्या भएपछि कल्याणपुर नगरपालिका–४ का अक्षयकुमार यादवले २०६६ मा भाउजू गीतासँग विवाह गरे । गीताको पनि २०७० कात्तिक ९ गते हत्या भयो । पति सत्यनारायणको हत्यापछि देवर अक्षयसँग विवाह गरेकी गीताको हत्याले यादव परिवार स्तब्ध भयो । धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी गीताको शव कर्जन्हा नगरपालिका–४ स्थित भेडवा खोलामा फेला परेको थियो ।
घटनास्थलबाट प्रहरीले हिन्दी भाषामा हस्तलिखित पर्चा बरामद गरेको थियो । तत्कालीन माओवादी पार्टीका नाम लेखिएको सो हस्तलिखित पर्चामा ‘हमारा सूचना’ भनेर हत्याको जिम्मेवारी लिइएको थियो । यो पर्चाले प्रहरीलाई अलमलमा पारिदियो । घटनाको मुख्य योजनाकार पत्ता लगाउन प्रहरीले ६ वर्ष पर्खिनुप¥यो ।
कर्तव्य ज्यान मुद्दा दर्ता भई प्रतिवादी पर्खेर थन्किएको सो मुद्दाको फाइल २०७६ जेठ १७ गते सिरहा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका उमाप्रसाद चतुर्वेदीले खोले । उनी फाइलको सूक्ष्म अध्ययन गरी प्रतिवादी पहिल्याउन थाले । त्यसबेला प्रहरीलाई भ्रमित पार्न छरिएको प्रचार सामग्री नै यो घटनाको मुख्य प्रतिवादीसम्म पुग्ने सिंढी बन्यो । प्रहरीले शंका लागेकालाई नियन्त्रणमा लिएर पर्चामा रहेको अक्षरसँग अक्षर मिलाउँदै, नमिल्नेलाई छाड्दै गर्न थाल्यो ।
अनुसन्धानकै क्रममा प्रहरीले अक्षयको अक्षर पनि मिलायो । उनको अक्षर पर्चामा रहेको हस्तलेखनसँग ठ्याकै मिल्यो । अनुसन्धान अधिकृतसामु अक्षयले लेखेको अक्षरको प्राविधिक प्रमाणीकरणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइयो । प्रयोगशालाको प्रतिवेदनअनुसार गीताको हत्या कबुल गरिएको पर्चाको अक्षरसँग अक्षयको अक्षर मेल खायो ।
२०७६ भदौ २२ गते पक्राउ परेका अक्षयलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको सिरहा प्रहरी प्रमुख ९एसपी० चतुर्वेदीले बताए । ‘अहिलेसम्मको प्रहरी अनुसन्धानबाट अक्षयको योजनाअनुसार गीताको हत्या भएको देखिन्छ,’ एसपी चतुर्वेदीले भने । घटना अन्तै मोड्न र आफू जोगिन अक्षयले त्यो पर्चा लेखेर घटनास्थलमा छरेको खुलेको छ ।
बिहेपछि अक्षय र गीता कल्याणपुरबाट कर्जन्हा नगरपालिका–२ मा बसाइ सरेका थिए । २०७० पुस ९ गते उनीहरू मेला हेर्न मिर्चैया बजार गएका थिए । घर फर्किने क्रममा कर्जन्हा नगरपालिका–४ स्थित भेडवा खोलामा अक्षयले धारिलो हतियार प्रयोग गरी गीताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दाजुको मृत्युपछि अक्षयले भाउजूसँग सहमतिमै बिहे गरे पनि पछि उनले दाइजोमा ५० हजार नगद र मोटरसाइकल माग गर्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दाइजो नदिएकै कारण आफूले गीताको हत्या गरेको अक्षयले प्रहरी समक्ष बयान दिएका छन् । ‘पर्चामा लेखिएको अक्षर र प्रतिवादीले अनुसन्धान अधिकृतसमक्ष लेखेको नमुना अक्षर केन्द्रीय विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनबाट मेल खाएको प्रमाणित भएको छ,’ एसपी चतुर्वेदीले भने, ‘हस्तलिपि मेल खाएको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएका छौं ।’






















