
ललितपुर, १२ असोज । यसपालिको बडा दसैं आइतबारबाट सुरु हुँदैछ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ ।
धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइतै खोज्नेका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर ३५ मिनेटको शुभ साइत तोकेको छ । ‘फुर्सद हुने र साइत खोज्नेले बिहान १० बजेर ३५ मिनेटकोे शुभ समयमा जमरा राखेर घटस्थापना गर्नु राम्रो छ’, समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले भने, ‘अरूले पनि बिहानको समयमा गर्दा राम्रो हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको महान पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ ।
घटस्थापनाको दिन पूजा कोठा, दसंैघर अथवा कोतमा दीयो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । आइतबार घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरी माथिपट्टि आँप चाप वा वर पीपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।
टीकाको साइत बिहान १० :३५ मा कलशको स्थापना गरी नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा वा माटोमा जौ छरिन्छ । ‘बिहानै उठेर नुहाई धुवाई गरी चोखो भएर पूजा कोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ ।
नवदुर्गा भवानीको १० दिनसम्म पूजा गर्ने गरिन्छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिशेक पनि लिने चलन छ ।
यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ । नौ दिनसम्म महाकाली, महादुर्गा र महाभवानीको आराधना र पूजाअर्चना गरी विजया दशमीका दिन टीका र जमराको प्रसाद ठूलाबडा र पुरोहितबाट ग्रहण गरिन्छ । दसंैको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा लिने गरिएको छ ।
समितिका अनुसार असोज २१ गते मंगलबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । त्यही दिन बिहान ८ बजेर ४५ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई बिसर्जन गरिने शुभ साइत रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।






















