
भोजपुर, १८ चैत । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसमर्थन जुटाउने लक्ष्यले नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले भोजपुरमा जन जागरण अभियान सञ्चालन गरेको छ । गणतन्त्र व्यावस्थाको विरोधमा विभिन्न तत्वहरु सक्रिय बनेको भन्दै एमालेले जन जागरण अभियान सञ्चालन गरेको हो ।
जन जागरण अभियानमा जिल्लाका ९ वटै स्थानीय तहका एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा भोजपुरको जिरो प्वाइटबाट चारभञ्याङसम्म ¥याली पश्चात कार्यक्रम गरिएको हो ।
नेकपा एमाले जिल्ला अध्यक्ष मक्कर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै एमाले नेता शेरधन राईले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षार्थ एमालेले देशभर नै जन जागरण अभियान सञ्चालन गरिरहेको बताउनुभयो । पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा राजाबादी सल्बलाएकोले यसको खवरदारीको लागि एमालेले जनजागरण कार्यक्रम आयोजना गरेको उहाँको भनाइ छ ।
“एमाले देशव्यापी रुपमा जनजागरण कार्यक्रम सञ्चालन गरिरहेको छ” नेता राईले भन्नुभयो,“देशमा लोकतन्त्र आएपछि विकासले गतिलिएको अवस्था छ । तर जनताको बलिदान पूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षार्थ जन जागरण कार्यक्रम भइरहेको छ । एमाले जहिले पनि जनताको हक र अधिकारको पक्षमा अग्रपङ्ती लड्ने पार्टी हो ।”
सोमबार भएको जनजागरण अभियानमा एमाले केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज प्रशुराम अधिकारी, केन्द्रीय सदस्य तथा भोजपुर ख इन्चार्ज हरिबहादुर राई, कोशी प्रदेश सचिवालय सदस्यहरु प्रेम कुमार राई, देवीराम चौलागाई, प्रेम कार्की कोशी प्रदेश लेखा समिति सदस्य गणेश श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै कोशी प्रदेश सदस्यहरु खड्गबहादुर पौडेल, निर्मला शेर्पा, कविता राई, सजना परियारको सहभागिता रहेको थियो ।