भोजपुरमा तीन हजार बढी सवारी तथा ढुवानीका साधनलाई कारबाही


भोजपुर, १३ भदौ । भोजपुरमा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार बढी सवारी तथा ढुवानीका साधन कारबाहीमा परेका छन् । प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कडाई गरेसँगै तीन हजार सात सय पाँच ओटा ढुवानी तथा सवारी साधन कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षमा ट्राफिक नियम विपरित सञ्चालन भएका ढुवानी तथा सवारी साधनको कारबाही बापत रु. २३ लाख दुई हजार पाँच सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षत्रीले जानकारी दिए ।

‘‘हामीले दुर्घटना न्यूनिकरणको लागि ट्राफिक नियममा कडाइ गरेको अवस्था छ’’प्रमुख थापाले भने,‘‘हालसम्म तीन हजार बढी ढुवानी तथा सवारीका साधनलाई कारबाही गरेका छौँ । कारबाहीबाट रु. २३ लाख बढी राजस्व संकलन भएको अवस्था छ ।’’ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा गरेको प्रगतीको विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यो अवधिमा प्रहरी चौकी भवन निमाणको लागि विभिन्न ठाउँमा ३२ रोपनी जग्गा प्रहरीको नाममा लिन सफल भएको प्रमुख थापा क्षत्रीले बताए । चार ओटा इकाईको नाममा १४ रोपनी दुई आना,आठ रोपनी भोग अधिकार पाएको र एउटा इकाइका लागि आठ रोपनी जग्गा प्राप्तिको अन्तिम चरणमा रहेको प्रमुख थापा क्षत्रीले जानकारी दिए ।

‘‘भवन नहँुदा कतिपय ठाउँमा प्रहरी नै असुक्षित तरिकाबाट वस्नु परेको अवस्था पनि छ’’ उनले भने ,‘‘प्रहरीलाई आफ्नै भवन चाहिन्छ भन्ने लक्ष्यले हामीले जग्गा व्यावस्थापनमा प्राथमिकताका साथ काम गरेका छौँ । हालसम्म प्रहरीको नाम करिव ३२ रोपनी जग्गा प्राप्ति भएको अवस्था छ । हामीले ट्राफिक प्रहरी पोष्ट र सुन्तले प्रहरी चौकीलाई व्यावस्थित गर्ने काम गरेका छौँ ।’’ प्रहरी चौकी दलगाउँ, ओख्रे र प्रहरी पोष्ट भोजपुरको भवन निर्माणको लागि पहिलो चराणमा रु.७८ लाख बजेट सरकारबाट विनियोजन भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा विभिन्न शिर्षकमा परेका एक सय ९० ओटा मुद्दा मध्ये ८५ ओटा फछ्र्यौट भएका र एक सय पाँच ओटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको सकृयतामा जिल्लाभर कुल दुई सय ७६ रोपनीमा लगाएको दश लाख ८५ हजार पाँच सय बोट गाँजा नश्ट गरेको प्रहरीको भनाइ छ । जिल्लामा आत्महत्या, जवर्जस्तीकरणी लागु औषधको मुद्दामा बृद्धि भएपनि बालविवाह चोरीका मुद्दा घटेको जनाइएको छ ।
गत आ.व.मा भोजपुर नगरपालिकामा सवै भन्दा बढी ४६ र अरुण गाउँपालिकामा सवै भन्दा कम आठ ओटा अपराधिक क्रियाकलाप भएको प्रहरीले जनाएको छ । त्यस्तै षडानन्द नगरपालिकामा ३७, टेम्केमैयुङ गाउँपालिकामा २५, पौवादुङमा गाउँपालिकामा १४, हतुवागढी गाउँपालिकामा २०, रामप्रसादराई गाउँपालिकामा १४, आमचोक गाउँपालिकामा १२ र साल्पासिलिछो गाउँपालिकामा १४ ओटा अपराधिक घटना भएको प्रहरीको भनाइ छ ।

समाजमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरणको लागि आठ सय ५४ ओटा सामुदायिक कार्यक्रममार्फत १५ हजार पाँच सय ५१ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । यो अवधिमा उत्कृष्ट काम गर्ने ८३ प्रहरीलाई पुरस्कृत र दश जनालाई कारबाही गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार