प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान


काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गर्नु भएको छ ।

असंलग्न राष्ट्रहरुको १८औँ सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङ, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल तथा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले ओलीलाई विदाई गरेका थिए भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले सम्मेलनमा ‘बाङडुङ सिद्धान्तलाई आत्मसात गर्दै वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतिको प्रतिक्रिया दिने’ विषयमा सम्बोधन गर्नेछन् । सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली यस अघि नै बाँकु पुगेका छन् । प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीलगायतका परराष्ट्र अधिकारीहरुको सहभागिता रहेको छ । आगामी शुक्रबार र शनिबार बाँकुमा हुने सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले सम्मेलनको क्रममा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली कार्तिक १० गते आईतबार स्वदेश फर्कनु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार